प्रधानमन्त्री प्रचण्ड भारतप्रति बफादार: भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव रोकिदिए

काठमाडौं । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने कामबाट सरकार पछि हटेको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव मन्त्रिपरिषदमा पुगेकोमा ‘भारतसँग सम्बन्ध बिग्रने’ भन्दै कृषि मन्त्रालयमै फाइल फर्काइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै फाइल फर्काउने निर्णय लिनुभएको एक मन्त्रीले बताए । उनका अनुसार भारत रिसाउँछ भन्दै बिषदी परीक्षन जस्तो अति संवेदनशील बिषयमा पनि सरकार पछि हटेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा १६ अर्ब ९६ करोड १३ लाख रुपैयाँको तरकारी भारतबाट भित्र्याइएको थियो। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९ अर्ब ६६ करोड ३० लाख रुपैयाँको तरकारी आयात भइसकेको छ । यो क्रम वर्षौंदेखि चलिरहेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यहीअनुसार भन्सार बिन्दुमा परीक्षण गर्ने प्रस्ताव तयार पारेको थियो।

खाद्यान्न, दलहन तथा त्यसबाट बनेका पदार्थको गुणस्तरसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भइसकेको छ । तरकारीको गुणस्तरसम्बन्धी मापदण्ड राजपत्रमा आएन ।

भारतबाट आउने तरकारी परीक्षण गर्दा ‘जीवनाशक विषादीको अवशेष’ भेटिने र त्यस्तो अवस्थामा तरकारी रोकिने भएकाले अहिले यो मापदण्ड लागू गर्न सरकार पछि हटेको हो ।

भारतसँगको व्यापारिक सम्बन्धमा प्रत्यक्ष प्रभाव पर्ने देखियो भनेर अहिले यो मापदण्ड लागू नगर्ने जानकारी आएको छ,’ कृषि मन्त्रालयका एक उपसचिवले भने ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन । तर, त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारतबाट आयात गरेर सिधै बजारमा पठाउने गरिएको छ । सरकारले नेपाली जनताको स्वास्थ्य भन्दा भारतलाई प्राथमिकता दिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ असार २ देखि भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण सुरु भएको थियो । नेपाली जनताको स्वास्थ्यलाई ख्याल गर्दै ओली सरकारले गरेको यो निर्णयप्रति भारतको असन्तुष्टि रहँदै आएको थियो ।