सिन्सियरको मीटरब्याज र ठगीधन्दाको पर्दाफास, घुस,सेवाशुल्क र बढी ब्याजको लोभले चुलुम्मै डुबे वचतकर्ता

काठमाडौं। काठमाडौंको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले लुटतन्त्र मच्चाएको छ। एउटै बचतकर्ताले लाखदेखि पाँच करोड रुपैयाँ मुद्दती खातामा बचत गरेको सिन्सियर डुब्ने अवस्थामा पुगेको छ।

सिन्सियरले लामो समयदेखि पैसा फिर्ता गर्न सकिरहेको छैन्, जसका कारण बचतकर्ता पिरोलिएका छन्। सिन्सियरले सात महिनादेखि ब्याज दिन सकेको छैन् । यता, बचतकर्ता पैसा फिर्ता हुन्छ कि भनेर निरन्तर सिन्सियर धाइरहेका छन् तर उनीहरु सँधै रित्तो हात फर्किन बाध्य भएका छन् ।

२०५७ मंसिर २९ गते दर्ता भएको यस संस्थामा बचत गर्ने अधिकांश नेवारी समुदायका छन् । न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, ढल्कु, नरदेवी, पुतलीसडक, मैतीदेवी, क्षेत्रपाटी, डिल्लीबजारलगायतका क्षेत्र व्यापारी र बासिन्दाले सिन्सियरमा पैसा जम्मा गरेका छन् ।

यहाँ हजारौंको बचत छ जुन डुब्ने अवस्थामा पुगेको छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ काठमाडौंकै स्थायी बासिन्दा भएको विश्वासमा पर्दा हजारौंको बचत जोखिममा परेको छ । सिन्सियरका कार्यकारी सञ्चालक राजेश खड्का कंलकीका बासिन्दा हुन् ।

कंलकी एरिया बसोबास गर्ने धेरैको बचत सिन्सियरमा छ । क्षेत्रपाटी, ढल्कुकी कर्जा विभागकी अधिकृत मीरा कर्माचार्यको विश्वासमा पर्दा त्यस क्षेत्रका बचतकर्ता मर्कामा परेका छन् ।

यी तीन हर्ताकर्ता यहीको बासिन्दा हो, यिनीह भाग्दैनन् भनेर सिन्सियरमा पैसा जम्मा गरे। तर, सीधासाधी बचतकर्ताको विश्वासको फाइदा यी तीन जनाले उठाए । बचतकर्ताले लगेर सिन्सियरमा बचत गरेको रकम पर्दाभित्र बसेर मीटरब्याजमा लगानी गर्ने काम भयो ।

सिन्सियरका तीन हर्ताकर्तार्ल भित्रभित्रै व्यापारीको माध्यमबाट मीटरब्याजमा लगानी गर्ने गरिएको छ । एक लाखको मासिक पाँच हजारदेखि ३० हजार रुपैयाँसम्म ब्याजमा पैसा दिने सिन्सियरमा अवैध कारोबार मौलाएको छ ।

बचतकर्ताले ब्याज खान जम्मा गरेको रकम सिन्सियरले व्यापारीलाई खटाएर आवश्यक परेकालाई मीटरब्याजमा लगाउन दिने गरिन्छ । बीचमा बसेर व्यापारीले पनि दलाल गर्छन् । सिन्सियर र केही बाठाटाठा व्यापारी मोटाइरहेका छन् भने सीधासाधी व्यक्तिहरु दिनदहाडे लुटिएका छन् ।

त्यसैगरी, घरजग्गा, थोत्रा ट्याक्सी र सेयरमा पनि सिन्सियरको थुप्रो लगानी छ । सहकारीले सेयर धितो राखेर कर्जा दिनु स्वाभाविकै हो । तर, सिन्सियरले जम्मा भएको रकमले आफैं सेयर किन्दै, नाफा खाँदै गरेको छ ।

जनताको पैसाले सेयर खरिदबिक्री गर्ने अनि आएको नाफा तीन जना मिलेर लापलुप खाने । आफ्नो पैसा लगानी नै नगरीकन सिन्सियरका भ्रष्ट्र अधिकृतहरुले मज्जाले नाफा कमाइरहेका छन् । २० वर्ष पुगेको थ्री– फोर मोडलका सात सय ट्याक्सीमा सिन्सियरको लगानी छ ।

सरकारले २० वर्ष पूराना ट्याक्सी विस्थापन गर्ने भनेर कानुन बनाएर राजपत्रमा निकालिसकेको छ । अब २० वर्ष पुगेका गाडीहरुको नामसारी हुँदैन् । सरकारले नामसारी बन्द गरिसकेको छ । यता, सरकारले राजस्व लिन पनि छोडिसकेको छ।

अधिवक्ता राखेर कागज गरेर किनबेच गर्दा अहिले थ्री–फोरको गाडी दुईदेखि तीन लाख आँउछ । तर, सिन्सियरले यो मोडलको एउटा गाडीमा १३ देखि १५ लाख लगानी गरेको छ । उसले यस्ता गाडीबाट यत्रो पैसा उठाउन छ ।

ट्याक्सीमा लगानी सिन्सियरका लागि भारी पर्यो । सिन्सियर ट्याक्सीकै कारण चुलुम्मै डुब्ने अवस्थामा पुग्यो । हिजो एउटा ट्याक्सीलाई कर्जा दिने बेलामा सिन्सियरका तीन हर्ताकर्ताले २५ हजार रुपैयाँ घुस लिएको छ, त्योपनि सेवाशुल्क बाहेक।

ट्याक्सी धितो राखेर १० लाख रुपैयाँ कर्जा दिएबापत यिनीहरुले यत्रो घुस सजिलै पचाइरहेका थिए । उता, दुई प्रतिशत सेवाशुल्क पनि लिन्थे । घुस र सेवाशुल्कको प्रलोभनमा अन्धो बनेका यिनीहरुले यताउता केही नहेरी भकाभक ट्याक्सीलाई कर्जा दिए ।

त्यत्रो घुस दिएर कर्जा लिने ट्याक्सी चालकहरु चर्को ब्याज तिर्न नसकेर डुबे । तीन किस्ता नतिर्नेबित्तिकै सिन्सियरले चालक र ट्याक्सी व्यापारीको ट्याक्सी तानेर लग्यो।

सिन्सियरले गाडी तानेर लगेपछि अधिकांश विस्थापित भए । चर्को घुस सिन्सियरका अधिकृतहरुले खाए तर सीधासाधी ट्याक्सी व्यापारी र चालकलाई सुकुम्बासी बनाइदियो ।

सिन्सियरका कारण धेरै ट्याक्सी चालक र व्यापारीको घरपरिवार तहसनहस बनेको छ । अधिकांश भाग्नुपर्ने अवस्थामा सिन्सियरले पुर्याइदियो । सिन्सियरले गाडी तान्ने बेलामा गुण्डा पठाउँछ, एउटा गाडी तानेको ३० हजार दिन्छन् ।

सहकारी ऐनमा उल्लेख भएअनुसार ऋण तिर्नका लागि पहिले ३५ दिने सूचना जारी गर्नुपर्छ त्यो पनि राष्ट्रिय स्तरको पत्रपत्रिकामा ।

त्यस्तै, धितो लिलाम गर्नुअघि पत्रिकामा ऋणीको तीन पुस्ते र फोटो पत्रिकामा निकाल्नुपर्छ । तर, सिन्सियरले त्यस्तो गर्दैन् ।

सहकारी ऐनको धज्जी उडाउँदै सिन्सियरले ३५ दिने सूचना र तीन पुस्ते सार्वजनिक गर्ने गरेको छैन् । धितो रोक्का राखेर ऋण लिने बेलैमा ऋणीको मञ्जुरी लिइसकेको सिन्सियरको कालो कर्तुत एकदमै धेरै छ ।

मञ्जुरी पत्रमा लेखिएको हुन्छ,‘तीन किस्ता मैले तिरिनँ भने मेरो धितो लिलाम गर्नुस् । म कँही उजुरी गर्दिन्। नेपाली कागजमा लेखिएको उक्त मञ्जुरी पत्रमा पहिले नै हस्ताक्षर गर्न लगाइन्छ । त्यस्तै, फोटोकपी पेपरमा दायाँबायाँ ल्याप्चे र हस्ताक्षर गर्न लगाएर राख्ने गरेका छन्।

भोलि ऋण तिर्न सकेन् भने सिन्सियरले त्यहाँ आफ्नो मनगढन्ते कहानी लेखेर ऋणी फसाउने गर्दछन् । ल्याप्चे र हस्ताक्षर गरेपछि भोलि ऋणीले मलाई थाहा छैन् भन्न पाँउदैन् । सिन्सियरले आफूलाई माथि र ऋणीलाई तल पार्ने गर्दछ ।

कर्जा दिने बेलामा पाँचदेखि सात वर्षको अवधि तोकेर दिइन्छ । वषैंपिच्छे कर्जा नवीकरण गर्न लगाउँदछन् । एक चोटिमा दुई प्रतिशत नविकरण शुल्क लिने गरेको छ, सिन्सियरले ।

सिन्सियरको कालोधन्दाको कुरा गरिसाध्य छैन् । एक महिनाअघि एक करोड ऋण लिँदा ऋणीले दुई प्रतिशत सेवाशुल्कबापत तिर्छन् । एक करोडको १० लाख त घुस मात्रै खुवाउनुपर्छ । त्यस्तै, सेयर पनि भिडाइहाल्छन् । यता, मासिक ब्याज पनि २२ देखि ३६ प्रतिशत तोकिएको छ, त्योपनि मान्छे हेरेर।

एक करोड कर्जा दिँदा सिन्सियरले डेढदेखि दुई करोडको धितो खोज्छ । ब्याज महँगो भो भनेर अर्को बैंकमा सार्न खोज्दा वा ऋण चुक्ता गर्दा पनि दुई प्रतिशत सेवाशुल्क लिन्छ । ऋण चुक्ता गरेको दिनसमेत गनेर ब्याज लिन्छ।

राम्रो धितो छ भने त्यहाँबाट सार्न दिँदैन् । यता, ऋण चुक्ता गरेपछि पनि धितो फुक्का गर्दैन् । धितो पचाउनका लागि विभिन्न बहाना बनाइराख्छ । सिन्सियरले च्यापेका ऋणीले अर्को बैंकमा धितो सार्न खोज्यो वा अर्को बैंकमा लोन पास गरेपनि भड्काइदिन्छ ।

लोन पासको पेपर हातमा पारिसकेकालाई समेत सिन्सियरले यता न उताको बनाइदिन्छ । धितो त्यहाँबाट फुक्का गरेर अन्त लैजानै दिँदैन् । ब्याजको स्याज, जरिवाना, हर्जना हानेर जसरी हुन्छ सिन्सियरले धितो कब्जा गर्नै खोज्छ । सिन्सियरले ऋणीको कर्जा लिएको किस्ताको खाता र पैसा जम्मा गर्ने खाता खोल्छ।

त्यहाँबाट ऋण लिएकाले मासिक किस्ता भनेर तिरेको पैसा सिन्सियरले खातामा जम्मा गरिदिन्छ । आज किस्ता तिरेपछि किस्ता घटाइदिनुपथ्र्यो नि ।

खराब नियतका व्यक्तिहरुले चलाएको सिन्सियरलाई जसरी पनि व्यक्तिको उठीबास लगाउनै छ । किस्तामा लगेर हालिदियो भने जरिवाना, पेनाल्टी लिन पाइएन् । त्यसैले जानाजान उसले बचत खातामा पैसा जम्मा गरिदिन्छ।

बचत खातामा दुईदेखि तीन प्रतिशत ब्याज दिन्छ । तर, कर्जामा त २२ देखि ३६ प्रतिशत ब्याज लिन्छ। बेलामा किस्ता नतिरेको भन्दै जरिवाना लिन्छ, पेनाल्टी हाल्छ। अनि आफैं ठूलो पल्टिन खोज्छ । तर, ऋणीले तोकिएको समयभित्र किस्ता तिरेका थिए।

तापनि सिन्सियरले जानाजान किस्तामा नतान्दिँदा ऋणीलाई बोझमाथि बोझ थपिएको छ । सिन्सियरले जहाँजहाँ लगानी गरेको छ त्यो सबै बीमा गरेको हुनुपर्छ । बीमा नगरेको धितोलाई उसले कर्जा दिँदैन् ।

बीमा गरेको छैन् भने कर्जा दिने बेलामा जबरजस्ती गराउँछ । कर्जा लिनेलाई पैसाको खाँचो परेको हुन्छ, जेजे भनि नि मान्नैपर्यो । यताबाट ऋण लिन चाहनेलाई बीमा गर्न लगाउँछ उता बीमा कम्पनीबाट कमिशन खान्छ । बीमाको अवधि एक वर्षको हुन्छ ।

बीमाको अवधि पुग्ने एक साता अघि नै सिन्सियरले आफुखुसी बीमा नवीकरणको पैसा पठाइदिन्छ । ऋणीले तिरेको किस्ताबाट बीमा कम्पनीलाई पैसा तिरिदिन्छ । यता, ऋणी यसबारे अन्जान हुन्छन् ।

उनीहरुलाई फोन नै नगरीकन, कुनै जानकारी नै नदिईकन मनलाग्दी बीमा गरिदिन्छ । एकातिरबाट कमिशन खाने अर्कोतिर बीमा कम्पनीलाई पठाएको पैसाको ब्याज पनि ऋणीसंग असुल्छ । आफन्तलाई जानकारी नगराईकन सिन्सियरमा खाता खोलेकाहरुको मृत्यु भयो भने फिर्ता हुँदैन् ।

सिन्सियरले आफन्तलाई फोन पनि गर्दैन्, सूचना पनि निकाल्दैन् । तीन हर्ताकर्ता मिलेर झ्वाम्म पारिदिन्छ । सिन्सियरमा बचत भएकाहरुको खाताबाट पैसा गायब हुने गरेको छ । अधिकांश बचतकर्ताको पैसा हिनामिना भइरहेको छ।

किस्ता तिरेपनि साँवा कहिल्यै नघटेपनि ऋणीहरु वाक्कदिक्क भइसकेका छन् । ब्याज र पेनाल्टी भन्दाभन्दै ऋणीलाई –मर्नु न बाँच्नु’ भइसकेको छ । ५० लाख पर्ने जग्गालाई घुस खाएर तीन हर्ताकर्ताले ४ लाख रुपैयाँ कर्जा दिएका छन् ।

४० लाखको सावाब्याज नतिरेर ६० लाख पुगिसकेको छ । जग्गाको मूल्य घटेर २० लाखमा झरेको छ । राजेन्द्र, राजेश र मीराले घुस खाएर अंकुत सम्पत्ति कमाएका छन् ।

अरुलाई ‘धोती न टोपी’ को बनाएर यिनीहरुले जोडेको सम्पत्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धिकरण विभागले छानबिन गर्नुपर्ने पीडितहरुको भनाइ छ । सहकारी विभागले सिन्सियरको ठगीधन्दामाथि चासो देखाएको छ ।

ठगेर खानेलाई कहिल्यै भलो हुँदैन् भनेझैं सिन्सियरका हर्ताकर्ताहरुको सातो गएको छ । यी तीन भ्रष्ट्र हर्ताकर्ता भाग्ने तयारीमा छन् भने बचतकर्ता डुब्ने अवस्थामा पुगेका छन्।

सिन्सियरमा बचत भएकाहरुको रातको निद्रा र दिनको भोक हराएको छ । सिन्सियरमा भ्रष्ट्राचारी प्रहरी प्रमुख र राजनीतिक दलहरुले कालोधन लुकाएका छन्।

यिनीहरुकै आडमा सिन्सियरले आफ्नो ठगीधन्दा चलाएको हो । भ्रष्ट्रहरुको साथ र समर्थन रहेको सिन्सियरको कालोकर्तुत ढिलो भएपनि सिन्सियरको ठगीधन्दा पर्दाफास हुनेछ ।