कांग्रेस सभापति देउवा र एमालेका नेता नेम्वाङबीच भेटवार्ता,देउवाले दिए यस्तो बचन

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।

श्रोतका अनुसार भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उम्मेदवार रहेको बताए। जवाफमा देउवाले ‘तपाईं राम्रो उम्मेदवार भएको’ भन्दै राष्ट्रपतिमा आफ्नै उम्मेदवार रहेको स्मरण गराए।

कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन्।नेताहरुबीच राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको छ।

नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो। जवाफमा देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताएका श्रोतले जनाएको छ।