सिन्सियरका तीन हर्ताकर्ताविरुद्ध अख्तियार र शुद्धिकरण विभागमा पर्यो मुद्दा, सम्पत्ति छानबिन हुने भएपछि उड्यो होश
अनुसा थापा-
भक्तपुर-
काठमाडाैं। राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरु कानुनको दायरामा आउने भएका छन्।
अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यविरुद्ध एकैचोटि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मुद्दा दर्ता भएको छ।
गत चैत ८ गते दर्ता भएको मुद्दामा उनीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग राखिएको छ । सिन्सियरका तीन हर्ताकर्ताले घुस खाएर अंकुत सम्पत्ति जोडेको र उनीहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै अख्तियारमा सी–०४८८०९ नम्बरमा र सम्पत्ति शुद्धिकरणमा ४४५५ नम्बरमा मुद्दा दर्ता भएको छ।
सीधासाधीलाई उठीबास लगाएर उनीहरुकै सम्पत्तिमा तीन हर्ताकर्ताले रजाइँ गरेको उजुरी पत्रमा उल्लेख छ। निवेदकले गलत तरिकाले कमाएको सबै सम्पत्ति राष्ट्रियकरण हुनुपर्ने र उनीहरुलाई संस्थाको जिम्मेवारी पदबाट हटाएर कानुनको दायरामा ल्याउनुपर्ने माग लिएका छन्।
हिजोको दिनमा फुट्या कौडी नभएकाहरु उक्त संस्थामा बसेर करोडौंको मालिक बनेको निवेदकले बताएका छन्। २०५७ मंसिर २९ गते दर्ता भएको सिन्सियरमा आउनुअघि केही नभएकाहरु रातारात मालामाल बन्नुको पछाडिको कारण निवेदकले खुलाएका छन्। नेपाली जनताले हालेको मुद्दामा उनीहरुको विगत र अहिलेको सम्पत्तिसमेत छर्लङ्ग पारिएको छ।
राजेन्द्रभक्त इन्द्रचोकको निवासी हुन् । यहीको स्थायी बासिन्दा भएपनि सिन्सियरमा आउनुअघि उनीसंग जायजेथोको नाममा त्यस्तो केही पनि थिएन् । पैदल हिँडेर आउने उनी अहिले महाराजगञ्जमा करोडौं मूल्य पर्ने महलमा बस्छन्।
मँहगामँहगा गाडी चढ्छन्। उनले सिन्सियरमै बसेर धेरै ठाँउमा जग्गा जोडेका छन् । उनको सम्पत्ति मूल्याकंन गर्ने हो भने ७० देखि ८० करोडको छ । यता, राजेश कँलकीका स्थायी बासिन्दा हुन्।
पुर्ख्यौली सम्पत्ति २० लाखको नभएका उनी अहिले करोडौंमा गनिन्छन् । कंलकीबाट पुतलीसडक कहिले हिँडेर त कहिले साइकलमा आउने उनी मँहगो गाडी चढ्छन् । करोडौं मूल्य पर्ने घरमा बस्छन् ।
एउटा कार्यकारी सञ्चालक भएर उनले जोड्नुसम्म सम्पत्ति जोडेका छन्, कसरी ? उनको जग्गामा उत्तिकै लगानी छ । अन्य क्षेत्रमा पनि लगानी गरेका छन्।
हाल उनको सम्पत्ति ४० देखि ५० करोड छ । २३ वर्षको अवधिमा यत्रो सम्पत्ति कमाउनुपछाडिको रहस्य हाल छरपस्ट भइसकेको छ। सिन्सियरकी अर्की घुसखोरी कर्मचारी हुन्, मीरा । १५ वर्षअघि संस्थासंग जोडिएकी उनी राजेन्द्रभक्तको आँखाको तारो हुन्।
राजेन्द्रभक्तको नातेदार पर्ने मीरालाई सिन्सियरमा ल्याउनुको कारण विगतदेखि गर्दै आएको ठगीधन्दामाथि पर्दा हाल्नु हो । हिजो १० हजार मासिक तलबमा मेडिकलमा काम गर्ने मीराको त्यहाँ आएपछि भाग्य चम्किएको छ।
त्यहाँ आएर अरुलाई उठीबास लगाउन सिकिन्, अरुको सम्पत्तिमा रजाइँ गर्न सिकिन्, योभन्दा अरु के नै चाहियो ? ढल्कु बस्ने मीराको आज १० करोड बढीको सम्पत्ति छ, कसरी ? एउटा कर्जा अधिकृतको मासिक तलब कति हुन्छ ?
सिन्सियरका तीन नाइकेले अरुलाई रुवाएर, विस्थापना गरेर जोडेको सम्पत्ति अब अख्तियार र शुद्धिकरण विभागले छानबिन गर्ने छ। यता, सहकारी विभागमा समेत यिनीहरुविरुद्ध मुद्दा हाल्ने तयारी भएको बताइन्छ।
यत्रो ठूलो दाग लागेका र घुसखोरी व्यक्तिहरुलाई सहकारी विभागले सिन्सियरको जिम्मेवारी पदबाट तुरुन्त हटाउनुपर्ने चर्चा चलेको छ । तीन हर्ताकर्तालाई त्यहाँबाट हटाउनुपर्छ भनेर सिन्सियरका सञ्चालक समिति, बचतकर्ता र सेयर होल्डरबीच बहस चलेको छ।
सिन्सियरको कालो कर्तुतबारे त सबैलाई थाहा पाइसकेका छन् । ऋणीलाई सिन्सियरले कसरी च्याप्यो ? हजारौं ऋणीलाई कसरी बिल्लीबाठ बनायो ? यो बाहिर आइसकेको छ । अहिले आएर सिन्सियरविरुद्ध मुद्दा दर्ता भएको छ।
अख्तियार र शुद्धिकरणमा मुद्दा परेसंगै सिन्सियरमा तहल्का मच्चिएको छ । तीन हर्ताकर्तालाई आफूले गलत तरिकाले कमाएको सम्पत्ति कहाँ लगेर लुकाऊजस्तो भएको छ । यता, बचतकर्ताले बचत गर्न छोडिसकेका छन्।
पैसा निकाल्नेका लाम लागेको छ। तीन हर्ताकर्तामाथिको विश्वास सेयर होल्डरले गुमाइसकेका छन् । सबैभन्दा ठूलो कुरा, न्यायको पर्खाइमा बसेका पीडितहरुको अनुहारमा खुसी देखिएको छ ।
उनीहरुमा अब त न्याय पाँउछौं भन्ने आशा जागेको छ । आफूसंग नेताको आड भएको र यो मुद्दाले केही हुँदैन् भन्ने दाबी गर्नेहरुको अब होश उड्नेछ। कानुनभन्दा माथि आफू होजस्तो गरेर यिनीहरुले पावर र पहुँचको दाबी गर्दै आएका छन् । राजनीतिक आड जित्दो रहेछ कि कानुन ? हेर्न बाँकी छ।
आफू बच्नका लागि शक्ति केन्द्र धाउने क्रम शुरु भइसकेको छ । विगतदेखि राजनीति दल, प्रहरी प्रशासनको आडमा यिनीहरुले लुटको धन्दा मच्चाउँदै आए।
नपढेका, हिसाबकिताब नजान्ने, कहीकतै पावर नभएकालाई त यिनीहरुले सोत्तर बनाएका छन् । सिन्सियरले शुरुका दिनदेखि ट्याक्सीमा लगानी गर्यो । किन कि ट्याक्सी व्यवसायीहरु धेरै पढेका हुँदैन् र उनीहरुको कतै पहुँच हुँदैन्।
सिन्सियरबाट हजारौंं पीडित बनेका छन् । सरकार नै हामी हौं, हामीलाई कसैले केही गर्न सक्दैन् भन्दै मनलाग्दी गरेका सिन्सियरका तीन नाइकेको हंशले ठाँउ छोडेको छ ।
अरुको सम्पत्ति आरामसंग पचाउँछु भन्ने सोचेको उनीहरुको अहिले आएर होश उडेको छ । हिजो जसरी खाएका थिए, अब अख्तियार र शुद्धिकरणले त्यसरी नै निकाल्छ ।
भनिन्छ,‘उधो गएको खोलो १२ वर्षपछि पनि उभो फर्किन्छ ।अपराध गर्नेले त्यसको तिरो तिर्नैपर्छ । सिन्सियरका एकाध होइन्, हजारौं पीडित बनेका छन् ।
अर्काको चिल्लीबिल्ली बनाएर सम्पत्ति पचाउन खोज्दाको प्रतिफल अब यिनीहरुले भोग्नेछन् । पीडितलाई सिन्सियरले केसम्म गरेन् ? आफैंले सिद्धयाउने अनि आफैं धम्क्याउने ? यस्तो पनि हुन्छ।
ऋणीलाई सखाप पारेपछि राजेशले भन्ने गर्थे,‘तिमीहरु जे सक्छौं त्यही गर । हामी यही पुतलीसडकमा छौं । तिमीहरुजस्ताले हाम्रो केही पनि हल्लाउन सक्दैनौं ।’ पीडितले हल्लाउनुपर्ने दिन गए, अब कानुनले सिन्सियरलाई हल्लाउँछ।
सिन्सियरको योजना नै ऋणीको धितो जसरी भएनि पचाउने र ऋणीलाई सुकुम्बासी बनाउने हो । विगतदेखि वर्तमानसम्म सिन्सियर यही रणनीतिमा चलेको छ । सिन्सियरले पाता फर्काउने र भित्र लगेर कोच्ने डरधम्की देखाउने भएकाले पीडितहरु गुमसुम बसेका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । सञ्चारमाध्यमहरुले सिन्सियरको कालोधन्दा बाहिर ल्याइदिएपछि पीडितहरु बोल्न थालेका छन् ।
सिन्सियरले पत्रकारलाई केसम्म गरेन् ? उसको सत्यतथ्य बाहिर ल्याउने पत्रकारलाई धम्क्याउने काम भयो । समाचार रोक्न मिडिया हाउसमै पुगे, राजेश खड्का । प्रहरी र प्रेस काउन्सिलमा उजुरीसमेत हाले।
पत्रकारलाई कुटपिटसमेत गरियो । आफूहरु सहीसत्य भएको दाबी गर्दै प्रेस विज्ञप्तिसमेत निकाल्यो, सिन्सियरले । तर, त्यसले त पत्रकारको कलम रोकिएन्।
अहिले पनि सञ्चारमाध्यमहरु सिन्सियर सत्यतथ्य र लुटको धन्दा बाहिर ल्याउन लागिपरेका छन् । सिन्सियरले बनाएका पीडितहरु एकजुट भइसकेका छन्। पीडितहरुले आफूलाई प्रहरीको जिम्मा लगाउने डरले थरथर बनेका तीन हर्ताकर्ताहरु न्यून मात्र कार्यालय आउँछन् ।
आएपनि क्षणिकका लागि आउँछन् र कुलेलम ठोकिहाल्छन् । अब सिन्सियरले पीडितलाई रोक्न सक्दैनन् । आज पनि पीडितहरुलाई सिन्सियरले दिएको पीडा झल्झली याद आउँछ ।
सिन्सियरको कारणले आफ्नो घरपरिवार नै तहसनहस बनेको घाउ उनीहरुलाई बल्झिएको छ । पीडितहरु सरकारसंग माग गर्छन्,‘सिन्सियरका तीन हर्ताकर्तालाई कानुनको दायरामा ल्याउनुपर्छ ।
पीडितहरुलाई न्याय दिनुपर्छ । सहकारी विभागले यसको दर्ता खारेज गरिदिनुपर्छ । गलत तरिकाले कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।’ यो सेवा दिने होइन्, सुकुम्बासी बनाउने संस्था हो । सरकार अझैपनि चुप लागेर बस्ने हो भने अरु पनि सुकुम्बासी बन्छन् ।
हजारौंले सिन्सियर ठग भनिरहँदा दुई जना सिन्सियरको गुनगान गाउँदै हिडिँरहेका छन् । कल्याण अधिकारी र देवदास श्रेष्ठलाई सिन्सियरले आफ्नो पक्षमा भक्तिगान गाउँन खटाएको छ । २० वर्ष कटेका ट्याक्सी धितो राखेर यिनीहरुले सिन्सियरबाट करोडौं ऋण लिएका छन् ।
सिन्सियरका तीन हर्ताकर्ताको ठग्ने आइडिया सिकेर यी दुईले पनि अंकुत सम्पत्ति कमाएका छन् । यी दुईको सम्पत्ति पनि सरकारले छानबिन गर्नुपर्छ ।
ट्याक्सी चालकलाई ठगेर कमाएका यिनीहरुको विरोधमा पनि मुद्दा पर्न बेर छैन् । राज्यलाई राजस्व छल्ने र सीधासाधी लुट्नेहरुलाई कानुनले छोड्नुहुँदैन् ।