गृहमन्त्रालयसहित यी तीन मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा नजाने,गृहमा कसले मार्लान बाजी ?
काठमाडौं । सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृहमन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले राख्ने भनेको गृहमन्त्रालय नेकपा एकीकृत समाजवादीले पनि नछाड्ने भएपछि प्रधानमन्त्री दाहाल सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यबाट पछि हटेको बताइएको छ।
गृह मन्त्रालयसहितका तीन मन्त्रालय आफ्नो पार्टीको बटम लाइन भएको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
उनले भने, ‘गठबन्धनमा रहेका कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री, जसपाले उपराष्ट्रपति पाएपछि एकीकृत समाजवादीले पनि मन्त्रालय रोज्न पाउनुपर्छ।
हाम्रो बटम लाइन उपप्रधान र गृहसहितका तीनवटा मन्त्रालय हो। उक्त मन्त्रालयका विषयमा प्रधानमन्त्री सकारात्मक नभए हामी सरकारमा जाँदैनौं।
भागबण्डाकै विषयलाई लिएर गठबन्धनमा संकट आइपर्ने संकेत देखिएको छ। पाण्डेले गठबन्धनमा सहभागी र बाहिरका दलहरूसमेत मिलेर प्रधानमन्त्रीलाई १ सय ७२ विश्वासको मत दिएपछि प्रधानमन्त्रीले अन्य दलहरूलाई बेवास्ता गर्न थालेको आरोप लगाए।
उनले भने,प्रधानमन्त्रीलाई हामी ११ दल मिलेर १ सय ७२ मतसहित विश्वास जुटायौं। त्यसपछि हाम्रो काम सक्किगयो नि। अहिले खोलो त-यो, लौरो बिर्सियोजस्तै हुन थालेको छ।
त्यस्तै अर्को प्रभावशाली मन्त्रालय अर्थ नेपाली काँग्रेसले लिने समझदारी भइसकेको छ ।
काँग्रेसले अर्थसहित ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३/३ मन्त्रालय दाबी गरिरहेका छन्।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २ मन्त्रालयमा दाबी गरेका छन्। यो अवस्थामा सत्ता गठबन्धनमै रहेका दलहरुलाई भाग पुर्याउन प्रधानमन्त्री प्रचण्डलाई सकस परिरहेको हो ।
त्यस्तै सत्ता गठबन्धनमा सरकारको साझा न्यूनतम कार्यक्रमका विषयमा पनि छलफल भइरहेको बुझिएको छ।