कहिल्यै उपप्रधानमन्त्री बन्दिनँ भनेको छैन :उपप्रधानमन्त्री खड्का

काठमाडौं। कांग्रेसबाट नेतृत्व गर्दै सरकारमा गएका उपसभापति पूर्णबहादुर खड्काले आफूले कहिल्यै पनि ‘उपप्रधान वा प्रधानमन्त्री बन्दिनँ’ नबनेको बताएका छन्।

शुक्रबार उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका खड्काले शनिबार बिहान बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगी सञ्चारकर्मीसँगको कुराकानीमा ‘मन्त्री मात्र बन्दिनँ’ भनेको स्पष्ट पारेका हुन्।

२०७२ सालमा अर्घाखाँचीको एउटा कार्यक्रममा खड्काले अब मन्त्री नबन्ने बताएका थिए। त्यसपछि पनि हालै सरकार गठनका क्रममा कांग्रेसभित्रबाट उनको नाम चर्चामा रहँदा उनले पुरानै कुरा दोहोर्‍याएका थिए।

शनिबार त्यसैलाई स्पष्ट पार्दै खड्काले धेरै पटक मन्त्री भइसकेकाले त्यसभन्दा माथिल्लो जिम्मेवारी पाए मात्र लिने भनेर भनेको बताएका हुन्।

उनले आफ्ना पुराना कुरा स्पष्ट पार्दै भने,विभिन्न कार्यक्रमहरूमा सहभागी हुने क्रममा मलाई मेरो चेतनाले मेरो दिलले निष्कर्षमा के पुर्‍यायो भने।

म धेरैचोटि मुलुकको मन्त्री भइसकेँ। ०५५ सालदेखि उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री, युवा तथा खेलकुद मन्त्री, जनसंख्या तथा वातावरणमन्त्री, सञ्चारमन्त्री २-२ चोटि गृहमन्त्री।यत्रो धेरै मन्त्रालयको मन्त्री भइसकेँ।

अब फेरि मैले मन्त्रीका रूपमा फर्कने, फेरि त्यसमा लालच देखाउनु उपयुक्त हुँदैन भन्ने लाग्यो। त्यसैले मैले घोषणा गरेँ – आजदेखि मेरो मन्त्री बन्ने अभियान बन्द भयो। आजदेखि मन्त्री बनाउने अभियानमा लाग्छु भनेर घोषणा गरेँ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने उनी अहिले पनि घरिघरि ललितपुरको बाडेगाउँस्थित किसुनजीको कुटीमा पुगेर पूजाआजा गर्दै आएका छन्।

राजनीतिक आन्दोलनकै क्रममा पटकपटक गरेर ५ महिना हिरासतमा परेका खड्का बहुदल स्थापनापछि तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नजिक भएर काम गरे।

भट्टराईकै स्नेहमा उनी ०४५ सालमा सुर्खेत सभापति भए। ०४८ को आमनिर्वाचनमा उनी सुर्खेत क्षेत्र नं.१ बाट निर्वाचित भए।०५१ को मध्यावधि चुनाव जितेका उनी राज्य व्यवस्था समितिको सभापति बने।त्यही बेला उनले पार्टीमा थप पकड बढ्यो।