सरकार गर्यो १ सय दिनको उपलब्धि सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
सय दिनमा देशले आर्थिक फड्को मारेको सरकारको दाबी छ । यस्तै, यसै अवधिमा शासकीय सुधारका कारण भ्रष्टाचारमा समेत कमी आएको सरकारी दाबी छ ।
प्रधानमन्त्रीको सचिवालयले सरकारको एक सय दिनको ३५ बुँदे उपलब्धि सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो।
आईसीसी–सीडब्लूसी लिग २ क्रिकेट प्रतियोगितामा सहभागी हुनु तथा प्रतियोगितामा विजयी हुने खेलाडीलाई पुरस्कृत गरिनुलाई पनि सरकारले आफ्नो उपलब्धिको फेहरिष्तमा समेटेको छ ।
यस्तै, सरकारले ठेक्का लिएर काम पूरा नगर्ने, बीचमै काम छोड्ने तथा काममा विलम्ब गर्ने निर्माण व्यवसायीहरूलाई सचेत गराइएको विषयलाई पनि आफ्नो उपलब्धि मानेको छ ।
सरकारले राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र लगायतका सेवाहरू विगतमा भन्दा छिटो छरितो र सहज रुपमा प्रवाह गरिरहेको भन्दै आफ्ना उपलब्धिमा समेटेको छ ।