उपनिर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिने समय तोकेको छ।

निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले मंगलबारका लागि समय तोकिदिएको हो।

तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो। सोमबार तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना गरेर कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

ती उम्मेदवारविरुद्ध उजुरी परेमा बुधबार छानबिन गरी बुधबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह पनि बिहीबार नै प्रदान गरिने आयोगले जनाएको छ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा तनहुँ–१ बाट विजयी हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट निर्वाचित हुनुभएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि ती क्षेत्र रिक्त छन्।

यसैगरी, चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उहाँको सांसद् पद गएको थियो । त्यसपछि सो क्षेत्र पनि रिक्त छ। रिक्त रहेका तीन वटै क्षेत्रमा २०८० वैशाख १० गते एकैदिन उपनिर्वाचन हुन लागेको हो।