पूर्वमन्त्री खान गिरोहको ‘सेक्स ट्रयाप’मा

काठमाडौं। अहिले जनमत पार्टीका नेता तथा पूर्व खानेपानी मन्त्री अब्दुल खान सेक्स ट्रयापमा परेका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ।

सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए। त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ।

ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी भारतीय गिरोहले पूर्वमन्त्री खानसँग रकमको बार्गेनिङ गरेको बुझिएको छ। खानले रकम दिन इन्कार गरी फेसबुकमा जोडिएका गिरोहका सदस्यलाई ब्लक गरेपछि गिरोहका सदस्यले उक्त भिडियो खानका फेसबुकमा जोडिएका अन्य व्यक्तिहरूलाई पठाएका थिए।

सोही भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल बनेको छ । उक्त भिडियो के कसो भएको हो भन्ने पूर्व मन्त्री खानले सुरुमा फेसबुकमा साथी बनेर व्यवहारिक कुराकानी गरेकी ‘युवती’ले पछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील भिडियो बनाएको स्वीकार गरे।

पूर्वमन्त्री खानले भने, ‘मलाई भारतीय गिरोह नै हो भन्ने लाग्छ। मसँग रकमको बार्गेनिङ भने भएन। सुरुमा त्यस्तो अश्लील भिडियो थिएन, त्यो भिडियो जोडिएको हो जस्तो लाग्छ । जब पछि अश्लीलता देखाउन थालियो, त्यसपछि मैले भिडियो कल काटेर ब्लक गरेको हुँ ।

यस सम्बन्धमा कहीँ कतै उजुरी गर्नुभएको छ कि छैन भन्ने प्रश्नमा पूर्वमन्त्री खानले भने, ‘म यतिबेला नेपालगञ्जमा छु । यस विषयमा मैले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेको छु । केही व्यक्तिहरूलाई पक्राउ पनि गरिसकिएको छ।

पूर्वमन्त्री खानले उक्त भिडियो इडिट गरी तयार पारिएको र आफूले कुनै अश्लील हर्कत नगरेको समेत दाबी गरे। उनले भने, ‘अनुहार मेरो हो, तर त्यहाँ यौन अङ्ग देखाएर अश्लील बनाइएको छ, त्यो मेरो होइन । त्यस विषयमा सायद भारतमा पनि अनुसन्धान भइरहेको होला।