रवि लामिछानेविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
लामिछानेविरुद्ध परेको रिटमाथि सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा आज बुधवार प्रारम्भिक सुनुवाई गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो।
यसअघि रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर भएको रिट निवेदन सोमबार दर्ता भएको थियो।
महान्यायाधिवक्ता डा.पोखरेलले गत चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको थियो ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको थियो । आज बुधवार निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।