सत्ता गठबन्धनभित्रै अर्को गठबन्धन तयार,प्रधानमन्त्री प्रचण्डलाइ गठबन्धन मिलाउनै सकस ?
काठमाडौं ।सत्ता गठबन्धन भित्र पनि अर्को गठबन्धन देखिन थालेको छ। संघ र प्रदेशको निर्वाचनपछि पुस १० गते नेकपा एमाले–माओवादी केन्द्रसहितको गठबन्धन भत्किएपछि माओवादी–कांग्रेससहितको पुरानो गठबन्धन फेरि बन्यो।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा बनेको नयाँ गठबन्धन सरकारमा सहभागी हुँदा एमाले प्रतिपक्षी दल बनेको अवस्था छ। आगामी बैशाख १० गते तीन क्षेत्रको उपनिर्वाचन हुँदै गर्दा प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा बनेको १० दलीय गठबन्धनभित्र अर्को गठबन्धन बनेकोछ भने यहि गठबन्धनभित्र पनि चार दलको छुट्टै गठबन्धन बनेको छ।
स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा बनेको चुनावी गठबन्धन पुस १० मा भत्किएर नेकपा एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेको थियो।तर सरकार सञ्चालनका लागि बनेको यो गठबन्धन भने दुई महिनापछि फागुन १२ गते भत्कियो।
प्रधानमन्त्री बन्न बालकोटमा बनाएको गठबन्धन भत्काएर माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलहरुको नयाँ गठबन्धन बनाए।
नयाँ गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका १० दल समेटिए।
प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण बदलेपछि कांग्रेस, नेकपा एस, जसपा, लोसपा, नागरिक उन्मुक्ति लगायतका दलहरुलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे।
प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि गठबन्धन दलभित्रैको किचाेलोका कारण सरकारले पूर्णता पाउन सकेकाे छैन।
यही बीचमा प्रतिनिधिसभामा रिक्त रहेको ३ स्थानमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै गर्दा सत्ता गठबन्धनभित्र अर्को गठबन्धन बनेको छ।
१० दलीय सत्ता गठबन्धनभित्र कांग्रेस, माओवादी, नेकपा एस, जसपा र लोसपाको छुट्टै गठबन्धन बनेको छ। उपनिर्वाचन हुन लागेको तीन क्षेत्र मध्ये चितवन २ र तनहुँ १ मा कांग्रेस र बारा २ मा जसपाको उम्मेदवारलाई पाँचै दलले समर्थन जनाएका छन्।
सत्ता गठबन्धभित्रका अन्य दलहरुले भने तीन वटै क्षेत्रको उपनिर्वाचनमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन्। उपनिर्वाचनका सन्दर्भमा मात्र नभई सरकारको साझा नीति तथा कार्यक्रममा पनि यिनै पाँच दलको मात्रै सहमति जुट्यकाे छ।
१० दलीय गठबन्धनभित्रको पाँच गठबन्धन बन्दै गर्दा सत्तामा बलियो उपस्थिति जनाउन माओवादी, नेकपा एस, जसपा, नेपाल समाजवादी पार्टी नेसपाको अर्को गठबन्धन क्रियाशील छ।
सरकारमा कांग्रेसको दाउपेचलाई रोक्न बनेको यो अघोषित गठबन्धनलाई समाजवादी मोर्चा बनाउने रणनीतिमा प्रधानमन्त्री छन्। सत्ताभित्रको यो शक्ति संघर्षले भावी सत्ता राजनीतिलाई कतातिर लैजान्छ भन्न कठिन भएकाे छ। गठबन्धन भित्र रहेका दलहरूकाे यस्ताे हालत हुनुमा प्रमुख राजनितिक दलहरूकाे दाउपेचका कारण यस्ताे भएकाे हाे।