ओलीका कारण कम्युनिष्टको बदनाम: माओवादी भित्र विकृति भएसम्म पार्टी एकता हुँदैन: अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ओलीप्रवृत्तिका कारण कम्युनिष्टको नामै बदनाम भएको बताएका छन्।

गोर्वाचोभजस्ता गलत पात्रका कारण सोभियत संघ विघटन भएको स्मरण गर्दै नेपालले भने– ओलीको कारण नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बनेको छ । ओली गोर्वाचोभ प्रवृत्ति एउटै हो ।

नेकपा एकीकृत समाजवादी सुनसरीले इनरुवामा गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपालले भने, ‘समाजवादलाई जनता चाहिन्छ, पुँजीवादलाई मुनाफा चाहिन्छ । गोर्वाचोभको कमजोरीले सोभियत संघ विघटन भयो।

हिटलरको कारण दोस्रो विश्वयुद्ध भयो । व्यक्ति खराव भएपछि राष्ट्रमा उदेकलाग्दो राजनीतिक वातावरण बन्छ। अहिले नेपालको राजनीतिमा अस्थिरताको जुन खेती मौलाएको छ, त्यो ओलीले दुईतिहाइको सरकार विघटन गरेको प्रतिफल हो ।

छिट्टै वुद्धि सपारेर मूल लक्ष्यतिर आउने कुरामा ओलीले अटेर गरेपनि एमालेका थुप्रै नेता तथा कार्यकर्ताहरू धरधरी रुदै छन्।

रुँदारुँदा आँसु नै सिद्धिए पनि ओली देखेपछि थुचुक्कै हुने केही डरछेरुवा बाहेक तमाम कम्युनिष्टहरू नेकपा एकीकृत समाजवादीको लाइनमा आएर समाजवादको यात्रामा सहभागी भएर अगाडि बढ्दैछन् ।

युरोप र अमेरिकाले कम्युनिष्ट मास्ने, फुटाउने, टुटाउने षडयन्त्र गरिरहे पनि ल्याटिन अमेरिकाका दर्जनाैं देशमा वामपन्थीको उदय भएको अध्यक्ष नेपालले बताए।

चीनको प्रगति देखेर जलन भएका साम्राज्यवादी अमेरिका र युरोपेलीहरू नेपाललाई अखडा बनाएर चीनमाथि धावा बोल्ने र सोभियत संघ जस्तै बनाउन सकिन्छ की भन्ने दाउमा रहेको नेपालले दाबी गरे ।

नेपालका पार्टीहरू खासगरी एमालेका ओली र कांगे्रसका केही पुरातनवादीहरू विदेशी शक्तिको अगाडि लम्पसार पर्छन।

ओेलीले अमेरिकी सेना ल्याउन खोजेकै हुन् । एमसीसी ल्याउन सहयोग गर्छु, माधव नेपालका १४ जना सांसदलाई हटाउनुस भनेर देउवासँग धुपबत्ति गरेकै हुन् ।

नेपालले संघीय संसदमा १८ सांसद भए पनि कामको हिसाबले एकीकृत समाजवादी अग्रस्थानमा रहेको बताए । गणतन्त्र र संघीयताको रक्षाका लागि आफुहरूले जोखिम मोलेको नेपालको भनाइ छ।

‘हामीले बडो होसियारीका साथ राष्ट्रको सार्वभौमिकता बचाएका छौँ । संघीय संसदमा हाम्रो १८ सांसद भए पनि हामी मतभारको हिसाबले चौथो शक्ति हौँ।

कामको हिसाबले राष्ट्रको पहिलो पंक्तिमा हामी पर्छौँ। ओलीलाई प्रचण्डले नेकपा ब्युँत्याउ, माधव नेपाललाई राष्ट्रपति बनाउ भन्दा ओली बम्किएर पागलै जस्ता भएकोले ओलीसँग झुट र ठगी धन्दाबाहेक अरु केही विश्वास गर्न नसकिएको हो।

‘ओलीका कारण संविधान, गणतन्त्र, लोकतन्त्र धरापमा परेको हो। गणतन्त्र र संघीयता खानेहरूको विरुद्ध खत्तरा मोल्ने हामी नै हौँ। र, पो गणतन्त्र छ र संविधान छ।

नत्र यतिबेला मुलुकमा प्रतिगामीहरूको रजाईं हुने थियो । जनताले बहुत दुःख पाउनेवाला थिए । हामीले जोगायौँ । अरु अझै डटौँ। विचलित नहौं। गाउँ गाउँ जाउँ, जनता जगाउँ। नेपालले भनेका छन् ।

सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौलाको अगुवाइमा भएको कार्यक्रममा समसामयिक राजनीतिक परिस्थितिबारे अध्यक्ष नेपालले प्रशिक्षण दिएका थिए।

माओवादीमा पनि विभिन्न खाले विकृति रहेकाले तत्काल पार्टी एकता नगर्ने तर, माओवादीसहित न्यूनतम विचार मिल्नेसँग मोर्चा बन्न सक्ने अवस्था रहेको नेपालले बताएका छन्।

कार्यक्रममा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पोलिटब्यूरो सदस्य महेश रेग्मी, केन्द्रीय सदस्य केशव विष्ट, केशव तिम्सिना, पितम्बर तिम्सिना, महाफुज आलमलगायत अतिथि रहेको एकीकृत समाजवादीका सुनसरी जिल्ला उपाध्यक्ष रामचन्द्र मतियैतले जानकारी दिए।

त्यसअघि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय मुद्धाहरूबारे वामपन्थी दृष्टिकोणका सन्दर्भमा प्रशिक्षण दिएका थिए।