राष्ट्रपति पौडेल थप उपचारका लागि भारत जादै
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान तयारी थालिएको छ। स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान लागिएको हो।
त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार चिकित्सक र परिवारको परामर्शपछि बुधबार एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी भइरहेको छ।
राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् बुधबार बिहान साढे नौ बजे भारत लैजान लागिएको बुझिएको छ। भारतमा उनको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने बताइएको छ।
लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएको राष्ट्रपति पौडलेको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडलेका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पौडेललाई भारत लैजानेबारे कुराकानी गरेका छन्।
सोमबारमात्रै फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका पौडेल फेरि छातीमा समस्या देखिएपछि मंगलबार शिक्षण अस्पतालमा भर्ना भएका थिए। १८ चैतमा पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो।