पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाँदै
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ।भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह भारत जान लाग्नुभएको हो।
पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उहाँ पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा जानुभएको थियो ।
यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ जान लाग्नुभएका पूर्व राजाको साथमा पूर्व यूवराज पारसबाहेक परिवारका सबै सदस्यहरु पनि भारत जाने बुझिएको छ।
उहाँका सुरक्षाकर्मीहरु भने नेपालगञ्जमै रहने छन् भने शाह परिवारको सुरक्षाको जिम्मा उत्तर प्रदेश सरकारले लिएको छ।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नेपालगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको थियो।
नेपालगञ्जको रामलिला मैदानमा बुधबार भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आह्वान गर्नुभएको हो।
पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताउनुभयो।