हेलिकप्टर उडानमा बढ्दो जोखिम, एक महिनाभित्रै ३ दुर्घटना
काठमाडौं । शुक्रबार संखुवासभामा सिम्रिक एयरको ‘९एन(एजेजेड’ हेलिकप्टर दुर्घटनामा पर्यो । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। हाइड्रोपावरको सामान ओसार्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
१ वैशाख २०७६ मा लुक्लामा मनाङ एयरको होलिकप्टर दुर्घटनामा परेपछि लामो समयसम्म हलिकोप्टर दुर्घटनामा परेको थिएन ।
तर, पछिल्लो एक महिनाको अवधिमा मात्रै तीनवटा हेलिकप्टर दुर्घटनामा परिसकेका छन् । गत २५ चैत, २०७९मा काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको थियो। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएएर दुर्घटनामा परेको थियो।
त्यसको भोलिपल्ट २६ चैतमा धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । कार्गो लिएर गएको हेलिकप्टर दुर्घटनामा मानवीय क्षति भने हुन पाएन।
लगातारको दुर्घटनाले हेलिकप्टर उडानको सुरक्षामा प्रश्न उठाएको छ । पटक–पटक हुने यस्ता दुर्घटनाले युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हट्न प्रयासरत नेपाललाई झनै अप्ठेरो पर्ने देखिएको छ ।
उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भने हवाई सुरक्षाका लागि सबै उपायहरु अपनाउँदा पनि पछिल्लो महिनामा प्राविधिक कारणबस केही दुर्घटना हुन पुगेको बताउँछन् । ‘दुर्घटनामा प्राविधिक कारण छन्, तर हामी यस्ता दुर्घटनाहरु हुन नदिन गम्भीर भएर लागेका छौं,’ उनले भने ।
पछिल्लो १० वर्षमा मात्रै नेपालमा १५ वटा हेलिकप्टर दुर्घटना भएका छन् । उड्डयन प्राधिकरणले सन् २०२२ सम्मको तथ्यांक संकलन गरी तयार पारेको रिपोर्टअनुसार सन् २०१८ मा सबभन्दा धेरै तीनवटा हेलिकप्टर दुर्घटनामा परेका थिए । त्यसपछि यसैवर्ष सन् २०२३ मा नै ३ वटा दुर्घटना भएका छन् । प्रतिवेदनअनुसार २०१५, २०१६ र २०१९ मा भने दुई–दुई वटा हेलिकप्टर दुर्घटनामा परेका थिए ।
कुल ४० दुर्घटनामा ९७ जनाको मृत्यु
तथ्यांकअनुसार नेपालको हवाई इतिहासमा ४० वटा हेलिकप्टर दुर्घटना भइसकेका छन् । यस्ता हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ९७ पुगिसकेको छ ।
नेपाल नागरिक उयन प्राधिकरणका अनुसार नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा भएको थियो । यो समय भीभीआईपी हेलिकप्टोर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।
सन् १९९७ मा थुप्तेन छोलिङमा १ जनाको ज्यान जाने गरी कर्णाली एयरको हेलिकप्टर दुर्घटना भयो । सन् १९९८मा मूलखर्कमा भएको अर्को दुर्घटनामा ३ जनाको ज्यान गयो ।
सन् २००३ मा रारा तालमा फिस्टेलको हेलिकप्टर खस्यो, जसमा ४ जनाको निधन भयो । सन् २००२ मा एसियन एयरको हेलिकप्टरमा सवार ११ जनाले सोलुखुम्बुमा मृत्युवरण गरे ।
सन् २००३ मै सिम्रिक एयरको हेलिकप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा पर्दा २ जनाको ज्यान गयो । २००५मा रामेछापको ठोसेमा हेलि हान्सको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाउनुप¥यो ।
सन् २००६मा सबैभन्दा ठूलो हेलिकप्टेर दुर्घटना भयो । वन राज्यमन्त्री गोपाल राईसहित संरक्षणविद् हर्क गुरुङ लगायत सवार श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटनामा पर्दा २४ जनाको एकै चिहान भए । जुन दिनलाई संरक्षणकर्मीले कालो दिनमा रुपमा मनाउने गरेका छन् ।
२०१०मा फिस्टेल एयरको हेलिकप्टर अम्दाब्लम हिमालमा दुर्घटनामा पर्दा २ जनाले ज्यान गुमाए । सन् २०१३ र २०१४मा क्रमशः सिमिकोट र सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनामा १÷१ जनाको निधन भयो । २०१५मा माउन्टेन हेलीको हेलिकप्टर सिन्धुपाल्चोककको यमुना डाँडामा खस्यो, जसमा ४ जनाको ज्यान गयो ।
यस्तै २०१५मा भूकम्प प्रभावितको उद्धारका लागि गएको अमेरिकी सेनाको हेलिकप्टरमा दोलखाको घोर्थलीमा दुर्घनामा हुँदा अमेरिकी सैनिकसहित १३ जनाले ज्यान गुमाए ।
फेरि २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो ।
२०१८मा हिल्सामा मनाङ एयरको होलिकोप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मैलुङमा खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो ।
सन् २०१९मा पर्यटन क्षेत्रका विभागीय मन्त्री रवीन्द्र अधिकारीले नै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुप¥यो । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुब भोछिभया तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित ७ जनाको निधन भएको थियो । ४४ वर्षका बीचमा भएका अन्य हेलिकप्टर दुर्घटनामा कैयौं घाइते पनि भएका छन् ।
हेलिकप्टर दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको प्रवृत्तिलाई मुख्य कारण ठह¥याउने गरेका छन् ।
किन बढ्यो दुर्घटना?
विकट तथा कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत पर्दा र स्थानीय तथा पर्यटकहरु बिरामी पर्दा उद्धारका हेलिकप्टर प्रभावकारी यातायात साधन बनेको छ ।
दुर्गम क्षेत्रमा ढुवानी मात्र होइन, हिमाली भेगमा पर्यटकहरु ओसारपसारमा हेलिकप्टर प्रयोग बढ्दो छ। पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकप्टर उडान हुने गरेको छ।
सहासिक पर्यटनदेखि वृत्तचित्र तथा चलचित्र निर्माणका क्रममा पनि हेलिकप्टरको प्रयोग बढेको छ । मेला महोत्सवमा हेलिकप्टर राखेर सःशुल्क उडानको मज्जा दिने क्रम बढेको छ ।
प्रयोग बढिरहँदा पनि नेपालमा जमिन नजिक उड्ने एयरक्राफ्टलाई मौसम र भूगोलको अवस्थितिबारे यकिन जानकारी दिने प्रणाली विकास भएको छैन।
काठमाडौंबाट पोखरा उडेको हेलिकप्टरलाई दुई विमानस्थलको मौसमबारे जानकारी हुने, तर इनरुटको मौसमबारे थाहा नहुने अवस्था छ।
हवाईजहाजहरु निकै उचाइमा उड्ने हुँदा इनरुटका डाँडाकाँडामा ठोक्किने सम्भावना कम भएपनि हेलिकप्टर भने पाइलटले आँखाले देखेको भूगोलकै आधारमा उड्नुपर्ने हुन्छ ।
हेलिकप्टरले धेरै अवस्थामा हेलिप्याड नभएको स्थानमा ल्याण्ड गर्नुपर्ने बाध्यता समेत हुन्छ। भएका हेलिप्याडहरुमा सुधार गरेर दुर्घटना न्युन गर्न सकिने भएपनि त्यसतर्फ कसैले ध्यान दिएको छैन । हेलिकप्टर उडानमा पाइलट र त्यसको चेकजाँचका कम्पनीका कमजोरीका घटना पनि देएिका छन्।
एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्ने, कुहिरोभित्र नछिर्ने लगायतका तोकिएका मापदण्ड पालना नगर्ने, जमिनकै नजिक हेलिकप्टर उडाएर हवाई गतिविधि गर्ने र तोकिएको भन्दाबढी लोड बोक्ने गतिविधिमा हेलिकप्टर संलग्न भएका छन् ।
उड्डडन प्राधिकरणले कतिपय पाइलटलाई कारवाही पनि गर्दै आएको छ। २३ मार्चमा उडान सुरक्षा मापदण्ड मिचेपछि फिस्टेल हेलिकप्टर, एयर डाइनेस्टी र अन्नपूर्ण हेलिकप्टरका पाइलट कारवाहीमा परे।
२७ अप्रिलमा अल्टिच्यड एयरका वरिष्ठ क्याप्टेन र मर्मत प्रबन्धकलाई अनिश्चितकालीन निलम्बन गरेको थियो । हेलिकप्टर उडानअघि र पछि नियमित चेकजाँच नगरेपछि उनीहरु कारबाहीमा परेका हुन्।
उड्डन प्राधिकरणका प्रवक्ता निरौला हवाई सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध भएर लागेको बताउँछन् । ‘हामी सुरक्षालाई प्राथमिकतामा राखेर विभिन्न प्रयास गरिरहेका छौं,उनले भने,पछिल्ला घटनाहरुलाई बाहिरबाट हेर्दा जेजस्तो देखिएपनि प्राविधिक विषय हुन्, हामी हवाई सुरक्षा सुनिश्चित गर्न प्रयासरत छौं।