नियन्त्रण र सन्तुलन नहुँदा राज्यका निकायहरूमा स्वेच्छाचारिता बढ्यो: महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नियन्त्रण र सन्तुलनको सिद्धान्त नहुँदा राज्यका निकायमा स्वेच्छाचारिता बढेको बताएका छन्।

कानुन दिवसका सन्दर्भमा शुभकामना दिँदै उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका निकायहरू नचल्दा राज्यका सबै अंगप्रति जनताको भरोसा टुटेको बताएका हुन् ।

शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका निकायहरू चल्न नसक्दाको परिणाम आज राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको छ,उनले शुभकामना दिँदै भनेका छन्,नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरूमा स्वेच्छाचारिता बढ्दै गएको छ।

उनले राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको औंल्याएका छन्।

‘मुलुकलाई सही बाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं कानुन दिवसले हामी सबैलाई त्यस मार्गमा अघि बढ्न प्रेरित गरोस्,’ उनले शुभकामना सन्देशमा भनेका छन्।