देउवा–ओलीमा सन्नाटा: प्रचण्ड सरकार संकटमा
काठमाडौं। नक्कली शरणार्थी प्रकरण विकास हुँदै जाँदा यसले प्रचण्ड नेतृत्वको सरकारनै संकटमा पर्ने खतरा बढाएको छ। शरणार्थी प्रकरणमा प्रधानमन्त्री निर्मम देखिँदा यसको प्रत्यक्ष नोक्सानीमा कांग्रेस र एमाले परेका छन्।
संसदको गणितिय अवस्था हेर्दा देउवा–ओलीको इशारामा कुनैपनि बेला वर्तमान सरकार अप्ठेरोमा पर्नेछ। जसको खतरा माओवादी पंक्तीले महशुस गरिसकेको छ।
नक्कली शरणार्थी प्रकरणमा सरकारले एकपछि अर्को भिआईपी पक्राउ गरिरहेको छ। वुधबार नेपाली कांग्रेसका नेता, पुर्व गृहमन्त्री बालकृष्ण खाँड र उनका स्वकिय सचिव नरेन्द्र केसी पक्राउ परेका छन्।
आफ्नो निकटस्त विश्वासपात्र खाँड पक्राउ पर्दा कांग्रेस सभापति देउवा तरंगित बनिसकेका छन्। अझ बालकृष्ण पत्नी मञ्जु खाँड र देउवा पत्नी आरजु राणालाई पक्राउ गर्न प्रहरीले प्रमाण संकलन गरिरहेको छ।
हालसम्म फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्रन प्रहरी प्रयासरत छ। चौतर्फी दवाव पछि नेकपा एमालेले रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिसकेको छ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र उनका पुत्र प्रतिक थापा विरुद्द पनि प्रहरी निर्मम हुने संकेत देखिइसकेको छ। यो प्रकरणमा हालसम्म माओवादी नेताहरुको संलग्नता भने देखिएको छैन।
यसको ठुलो नोक्सानी केवल कांग्रेस र एमालेले बेहोर्नुपरेको छ। यो प्रकरणमा गृहमन्त्रीले रोकिने छाँटकाँट देखाएका छैनन्।
सरकारको पछिल्लो अडानले खासगरी ओली र देउवामा सन्नाटा छाएको छ। आपसी समझदारीमा थामथुम पार्ने प्रयास स्वरुप शीर्ष नेताहरुबिच भेटघाट पनि बाक्लिएको छ।
ओलीले प्रधानमन्त्रीसँग पटक पटक एकल वार्ता गरिसकेका छन् भने मंगलबार र बुधवार गृहमन्त्री सहित शिर्ष नेतात्रयको बैठक बस्यो।
यसले परिस्थिति जटिल बन्दै सरकारमा समेत प्रभाव पर्ने संकेत देखिन्छ। ओली–देउवा चिढाएर प्रचण्ड लामो समय सरकारमा रहन सक्लान त?
३२ सिटे प्रधानमन्त्री प्रचण्डलाई ओली–देउवा दाहिना नबने तत्काल सरकार छाड्नुपर्ने अवस्था बन्नेछ। रास्वपा बाहिरिएपछि कमजोर बनेको सरकारको अंकगणितमा प्रधानमन्त्री प्रचण्ड सामु २ विकल्प छन्।
ओली देउवासँग सम्झौता गरेर यो प्रकरणमा ब्रेक लिने वा सरकार गुमाउनुपर्ने सम्भावित परिस्थितीको सामना गर्ने।
यो प्रकरणमा कसैको दवावमा परेर खुट्टा नकमाउने प्रधानमन्त्रीले बताईसकेका छन्। यस्तोमा माओवादी पंक्तिले सरकारमा खतराको संकेत महशुस गरिसकेको छ।
पुस १० को समिकरण भत्काएर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा कायम रहेका प्रचण्डसँग एमालेको पुरानै हिसाब किताब बाँकी छ।
प्रचण्ड सरकार भत्काउन रास्वपा सभापति रवि लामिछानेलाई समेत प्रधानमन्त्री बनाउने प्रस्ताव एमालेले गरिसकेको छ।
आफ्नो आशिर्वादमा प्रधानमन्त्री बनेका प्रचण्ड, आफैँ विरुद्द निर्मम देखिँदा देउवाको मगज स्वत गर्माएको छ।
यो प्रकरणले ओली–देउवालाई एक ठाउँमा उभ्याउँदा कुनैपनि समय प्रचण्ड सरकारको आयु सक्किने सम्भावना बढेको देखिन्छ।