रेशम चौधरीलाई कानुन बनाएरै छुटाउने हो: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीका विषयमा कानुन बनाएरै निर्णय गरिने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उनले टीकापुर घटनाबारे सर्वोच्च अदालतको आदेश आइसकेकाले अब कानुन बनाएरै अघि बढ्नुपर्ने उल्लेख गरे।

संसद्मा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सोधेको प्रश्नको जवाफमा उनले चौधरीसहितका राजबन्दीका विषयमा यसअघि अध्यादेश ल्याएर निर्णय गर्न खोज्दा नसकिएको बताए। अब संसद्बाटै कानुन पारित भएपछि त्यसबारेमा निर्णय लिइने बताए।

राजनीतिक आन्दोलनका राजबन्दीका विषयमा एकमुष्ट निर्णयका लागि कानुन संसद्मा छ,प्रधानमन्त्री प्रचण्डले भने,रेशमलाल चौधरीका विषयमा प्रस्टसँग प्रश्न राख्नुभएको छ।

यसअघि पनि अध्यादेशबाट छुटाउने प्रयास गरेकै हो। अदालतबाट जे फैसला भएपछि छिटो होस् भनेर अवाज उठाएकै हो। अहिले फैसला आएको छ।अब समस्या समाधान गर्ने विषयमा हामी गम्भीर छौँ।

उनले गिरिशचन्द्र लाल आयोगको तत्कालीन प्रतिवेदनबारे आफूले प्रस्ट पारिसकेको भन्दै त्यसमा भएका ‘व्यावहारिक र कानुनी जटिलता’ फुकाएर सार्वजनिक गरिने बताए।