दुई बस ठोक्किँदा एक जनाको मृत्यु, २९ घाइते
काठमाडौं। दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुई बस ठोक्किएपछि लोकल बसमा आगो लागेको डिएसपी गौतमले बताए। दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो।
पूर्व जाँदै गरेको बस लमही–भालुवाङ रूटमा चल्ने लोकल बस हो । उक्त बसमा चालक र सहचालक मात्र रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घनामा परी मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी –७ की ४३ वर्षीया शोभा परियार छिन्। उनका दुई छोरापनि घाइते छन् । परियार बाराबाट इट्टा भट्टामा काम गरेर घर फर्कदै थिइन्।
डिएसपी गौतमका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। तीमध्ये अधिकांश इँट्टा मजदुर रहेको बताइएको छ।
दुर्घटनाका घाइतेमध्ये लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामीजाल र अर्की एक महिलाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।
घाइतेमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई घोराही र २ जनालाई नेपालगञ्ज उपचारका लागि पठाइएको डिएसपी गौतमले जानकारी दिए।
स्थानीय रूटमा चल्ने बस तीव्र गतिमा रहेका कारण दुर्घटना हुन पुगेको प्रहरीको अनुमान छ। यसबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिए।