प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ।

शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्य तालिका सार्वजनिक गरेको हो।

गत पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री दाहालको यो पहिलो विदेश भ्रमण हुन लागेको हो।

प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल,मन्त्रीहरू,सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री दाहालले जेठ १८ गते नरेन्द्र मोदी र प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नु हुनेछ। त्यसपछि दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल नेपाल फर्किनु अघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालयले जनाएका छन्।