संघीय संसदको संयुक्त बैठक आज पनि बस्दै
काठमाडौं। संघीय संसदको दुवै सदनको संयुक्त बैठक आइबतार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसदको बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। आइतबारै दिउँसो १ बजे दुबै संसदको नियमित बैठक पनि बस्दैछ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाले शनिबार नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने सरकारले बजेटको तयारी पनि गरिरहेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
यसैबीच राष्ट्रिय सभा बैठक पनि बस्दैछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेर बस्ने संसद सचिवालयले जानकारी दिएको छ।