प्रचण्डको दिल्ली भ्रमणका यी हुन् भित्री एजेण्डा
काठमाडौं।भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामो समयको पर्खाइपछि जेठ १७ गते जाने भएका छन्। प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो।
प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट नै गर्ने घोषणा गरेका प्रचण्डले यसअघिको चीनको बोआओ भ्रमण स्थगित गरेका थिए। भारत भ्रमणमा के कस्ता कार्यक्रम समेटिएका छन् त?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत पुस ११ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमण भारतबाट नै गर्ने घोषणा गरेका थिए। तर सरकार गठन भएको दुई महिनाभित्रै गठबन्धन बदलियो।
एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड कांग्रेस क्याम्पमा पुगे। गठबन्धनको फेरबदल, राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लगायतले गर्दा उनले अन्य विषयलाई समय दिन सकेनन्।गत चैतमा चीनको बोआओ सम्मेलनमा प्रचण्ड सहभागी भएनन्।
चीनको हेनान् प्रान्तमा गत चैत १४ देखि १७ को ‘बोआओ फोरम फर एशिया’ मा सहभागीताका लागि चिनिया राजदूत छन सोङले फागुन १० मै निम्तो दिएका थिए। तर, पहिलो भारत भ्रमणका लागि प्रचण्डले अनेक तारतम्य मिलाए पनि भारतले वास्ता गरेन।
लामो पर्खाइपछि जेठ १७ गते भारत भ्रमणमा जाने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका तय भएको छ।
शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण कार्यतालिकामा प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलले हैदरावाद हाउसमा वार्ता गर्ने उल्लेख छ।
चार दिने भारत भ्रमणको क्रममा प्रचण्डले सीमा क्षेत्रको समस्या लगायत राष्ट्रियताका विषयमा स्पष्ट कुरा राख्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाव दिएका छन्।
तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलो भारत भ्रमणका क्रममा इपीजी इपीजी लगायतका विषयमा स्पष्ट कुरा राख्न परराष्ट्रविद्हरुले सुझाव दिएका छन्।
भारत भ्रमणका क्रममा उठाउने एजेण्डाबारेमा प्रचण्डले यसअघि विभिन्न विज्ञहरुसँग छलफल गरेका थिए। सत्तारुढ माओवादी केन्द्र पछिल्लो समय वैदेशिक शक्ति केन्द्रको घेराबन्दीमा रहेको निश्कर्षसहित प्रचण्डले भारतसँगको सम्बन्धलाई पनि विस्तार गर्न चाहेका छन्।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको दोस्रो दिन जेठ १८ गते भारतीय समकक्षी मोदीसँगको द्विपक्षीय हितका बारेमा भेटवार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको साथमा नेपाल सरकारका मन्त्री सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु,उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा उठाइने एजेन्डाको गृहकार्य गरिरहेका प्रचण्डले यो भ्रमणमा नयाँ रेकर्ड बनाउने उद्घोष गरिसकेका छन्।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा हालसालै नेपाल सरकारले भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी नेता पिपुल लिवरेशन फ्रन्ट अफ इण्डियाका प्रमुख दिनेश गोपलाई सुपुर्दगी गरिसकेको छ।