प्रचण्डले माधवलाई भने सरकारमा बसेर धेरै विरोध नगर्नु
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गरेका हुन्।
सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोलाएर छलफल गरेका हुन्।
आर्थिक सङ्कट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको तर अहिलेको अवस्थामा यो ठिक रहेको प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा प्रस्ट पारको बताइएको छ।
आगामी आर्थिक वर्षको बजेटमा एकीकृत समाजवादीका योजनाहरू नसमेटिएपछि विरोध जारी राखेका छन्।
बजेट विनियोजन गर्दा विधि पद्धति भन्दा बाहिर गएर गरिएकाले आपत्ति जनाएको नेकपा एसले बताइरहेको छ। तर, बजेट पारित हुन नदिने वा संशोधन गर्ने भन्नेतिर परिस्थिति नजाने बताएको छ।