काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच छलफल

काठमाडौं। काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच छलफल भएको छ।काठमाडौं महानगरभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने व्यवस्था गरेपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका थिए।

बिहीबार दुईपक्षबीच छलफल भएको छ। व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन गरिएको छ । कार्यदलले बस स्टप र टिकट काउन्टरबारे टुङ्गो लगाउने भएको हो।

महानगरले काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रका ‘काउण्टर’ नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो।

काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने गाडीहरु नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्नुपर्ने महानगरले बताएको थियो । यातायात व्यवसायीले भने यसको विरोध गर्दै आएका छन् ।

यस्तै महानगरले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने भएको छ । शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले बताए ।

कार्यदलको सहमति अनुसार उपयुक्त स्थानहरुमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गरिने उनले बताए । उनले यात्रुहरु बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने निर्णय भएको बताए।

महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ। जसमा जगतमान श्रेष्ठ संयोजक, उपत्यका ट्राफिक प्रहरी कार्यालय,भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी,डेकनाथ गौतम,राजन रोक्का,केदार क्षेत्री,राजेन्द्र आचार्य,नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्यीय प्रा।लि। सदस्य रहेका छन्।