राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई तिरेको बजेटले करको दुरुपयोग: सांसद रघुजी पन्त

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताउनुभएको छ।आइतबार प्रतिनिधि सभामा बसेको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताउनुभएको हो।

सांसद पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नरहेको बताउनुभयो। उहाँले राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री मन्त्रीपरिषद् भएकाले छुट्टै सल्लाहकार आवश्यक नरहेको जिकिरसमेत गर्नुभयो।

उहाँले उपराष्ट्रपतिले विदेश मामिलामा सल्लाह दिनका लागि सल्लाहकार राखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले उपराष्ट्रपति पदेन राष्ट्रिय सभाको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो।

सांसद पन्तले उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेकोकरको दुरुपयोग भएको बताउँदै बजेट विनियोजन औचित्यपूर्ण नरहेको जिकिर गर्नुभयो। उहाँले राष्ट्रपतिले आफूलाई शक्तिशाली पद ठानेर त्यसको दुरुपयोग गर्न थालेको बताउनु भयो।