भुटानी शरणार्थी प्रकरण: थप एक जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप १ जना आरोपीलाई पक्राउ गरेको छ। प्रहरीले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो।

शरणार्थी प्रकरणका अभियुक्तहरू धमाधम पक्राउ परिरहेका बेला उक्त प्रकरणमा मुछिएका बुढाथोकी फरार थिए। यस प्रकरणमा गिरोहले बुढाथोकीको बैंक खातामा संकलन गरेको रकम प्रहरीले अनुसन्धानमा प्रमाण फेला पारेको थियो।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिवबाट निलम्बित टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १८ जना पक्राउ परेर हिरासतमा छन्।

प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो। फरार १२ जना मध्ये सोमबार बुढाथोकी पक्राउ परेका छन्। अब ११ जना पक्राउ पर्न बाँकी रहेका छन्।

पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भइसकेका छन्। अरुलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।