पशुपतिको जलहरी नापतौलमा जालझेल,उठ्यो गम्भीर प्रश्न ?
काठमाडौं। पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंग (गर्भगृह)मा राखिएको जलहरीको तौल मुचुल्का र परीक्षणमा फरक–फरक पाइएको छ ।
करिब साढे दुई वर्षअघि उठाइएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी बनाइएको र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ। पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी तयार पारिएको भन्दै कोषका तत्कालीन पदाधिकारीविरुद्ध २०७८ मै अख्तियारमा उजुरी परेको थियो।
जलहरी राख्नुअघि तयार गरिएको मुचुल्काको विवरणमा शंकास्पद रूपमा केरमेट र अंक घटबढ गरिएको देखिन्छ । जलहरी राख्दा उपस्थिति जनाइएका केही व्यक्तिको मुचुल्कामा हस्ताक्षर पनि छैन । महालेखा परीक्षकको कार्यालयले पनि जलहरी निर्माणका विषयमा प्रश्न उठाएको थियो।
महालेखाको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुने विवरण नभएको उल्लेख छ।
अख्तियारले उजुरीमाथि प्रारम्भिक छानबिन गरेर कोषका पूर्व तथा बहालवाला पदाधिकारीरकर्मचारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र कालिगडसँग बयान लिएको थियो।
त्यसपछि थप अनुसन्धान अघि बढेको थिएन । सुरुमा राखिएको सुनको परिमाण कति भन्ने पहिल्याउन पनि अख्तियारले चासो दिएको थिएन ।
जलहरी निकालेर वा त्यहीं परीक्षण गर्ने भन्नेमा ‘प्राविधिक’ कठिनाइ देखाएर अख्तियार मौन बस्यो । जलहरी प्रकरणबारे संसद्मा समेत आवाज उठेपछि मात्र अख्तियारले पशुपतिनाथको गर्भगृहबाट जलहरी निकालेर नापजाँच गरेको हो।