सहकारीहरुलाई ३० दिनभित्र बिवरण बुझाउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं। काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ।
महानगरपालिकाको सहकारी विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु पेस गर्ने गरेको नपाइएको भन्दै ३० दिनभित्र विवरण बुझाउन भनेको हो।
सहकारी ऐन अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नुपर्दछ। तर, सहकारी संस्थाहरुले समयमा साधारणसभा नगर्ने र आवश्यक मापदण्डहरु पूरा नगरी कारोबार गर्ने गर्दछन्।
महानगरपालिकाले तोकिएको मितिभित्र विवरण नबुझाउने सहकारीहरुलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ।
यसैबीच, काठमाडौंका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा सन्देश लेख्दै वित्तीय जोखिमबाट बच्न र सहकारी संस्थाहरुलाई संकटग्रस्त हुनबाट बचाउन अनुरोध गर्नु भएको छ।