साउदीमा एक नेपालीको गोली लागेर मृत्यु ,पहिचान खुल्न बाँकी
काठमाडौं । साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ।
हिजो कारमा आएका एक बन्दुकधारी जेद्दाको अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका र उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको समाचार संस्था अलजजिराले जनाएको छ।
मृत्यु हुने नेपाली सुरक्षागार्डको परिचय खुल्न बाँकी छ। नेपाली सुरक्षा गार्ड अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए।
जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चलेको अमेरिका र साउदी अरबका अधिकारीले पनि पुष्टि गरेका छन्।
यो घटनामा आफ्ना नागरिक नपरेका अमेरिकी दूतावासले जनाएको छ। दूतावासले घटनाको अनुसन्धानका लागि साउदी अरबका अधिकारीहरुसित सम्पर्कमा रहेको जनाएको छ।
घटनामा बन्दुधारी पनि मारिएको पुष्टि भएको छ। घटनाको थप विवरण आउन बाँकी छ। जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बेलाबेलामा निशानामा पर्दै आएको छ।
यसअघि पनि त्यहाँ आक्रमण र विस्फोटका घटना भएका थिए। सन् २०१६ मा दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराएका थिए।घटनामा उनी मारिएका थिए भने दुई जना घाइते भएका थिए।
यस्तै, सन् २०१४ मा भएको आक्रमणमा चार जना साउदी सुरक्षाकर्मी र पाँच जना स्थानीय कर्मचारीको ज्यान गएको थियो।