भ्रष्टाचार रोक्ने एउटै उपायः नेतादेखि व्यापारीसम्मको सम्पत्ति हरेक वर्ष छानबिन गर्ने कानुन बनाउनुपर्छ,गलत तरिकाबाट कमाएको सम्पत्ति राष्ट्रियकरण गरौं

काठमाडौं।मुलुक भ्रष्टाचारको दलदलमा फसेको छ। जो हेर्यो अरुलाई ठग्न र लुट्नतर्फ लागिरहेका छन्। राजनीतिक दल, सरकारी कर्मचारी, व्यापारी, उद्योग व्यवसायीलगायत सबै भ्रष्टाचारी छन्।

कसैले राज्यलाई लुटेका छन् त कसैले आम नागरिकलाई । राजनीति सेवा हो तर, राजनीतिक दलहरुले व्यापार बनाएका छन् । सरकारमा पुगेकाहरु कमाउनैतिर दौडिएका छन्।

सरकारी कर्मचारी त एक नम्बरका घुसखोरी भए । घुस नखाई केही काम नै गर्दैनन् । सरकारले जनतालाई निःशुल्क भनेका कामकाजमा निम्तिसमेत सरकारी कर्मचारीहरु घुस खान्छन् ।

पाइलैपिच्छे घुस खाने, पैसा नखाई कुनै काम गर्न नमान्ने सरकारी कर्मचारीहरुको आचरणमा कहिल्यै सुधार नआउने भयो । कर्मचारीहरु भ्रष्टाचारी हुँदा देश नै बदनाम बनेको छ।

कर्मचारीहरुले घुस खाएको भनि दिनहुँजसो बाहिर आइरहेको हुन्छ । हुन पनि हो, जागिर खाएको तीन वर्षमा सरकारी कर्मचारीले काठमाडौंको मुख्य बजारमा मँहगो घर बनाउँछ।

मासिक २० हजार तलब खाने कर्मचारीले काठमाडौंमा जग्गा किनेर घर बनाउन सक्छन् ? मासिक लाख रुपैयाँ खर्च गर्छ, करोडौं पर्ने घर बनाउँछ, छोराछोरीलाई मँहगो बोर्डिङमा पढाउँछ, सुकिलोमुकिलो भएर हिँड्छ।

२० हजारमा यतिको आरामदायी र आलिशान जिन्दगी त सम्भव छैन् । यो सिँधै भ्रष्टाचार होइन् र ? अर्कोतिर बैंक तथा वित्तिय संस्थाका कर्मचारी घुस खान माहिर हुन्छन् । जे गर्दा नि घुस । घुस नलिईकन वित्तिय संस्थाका कर्मचारीले कुनै काम नै गर्दैनन्।

आफ्नै सम्पत्ति धितो राखेर, उनीहरुले भनेजति ब्याज तिरेर कर्जा लिनका लागि पनि घुस खुवाउनुपर्छ । वित्तिय संस्थाहरु यति लुट भएकि विश्लेषण गरेर साध्य छैन्।

सीधासाधीलाई उठीबास लगाएर तिनीहरुको सम्पत्तिमा कब्जा जमाएर बस्ने ‘साप’ हुन्, वित्तिय संस्थाका कर्मचारी । अहिले बजारमा कालोबजारी बढेको छ, मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकिएको छ।

हरेक हप्ता सामानको मूल्यवृद्धि हुन्छन् । झन् दैनिक उपभोग्य वस्तुको मूल्य त निरन्तर आकासिरहेको छ । उद्योग व्यवसायी मूल्य बढाएर सामानको तौल घटाएर पठाउँछन्।

व्यापारीहरु त्यही सामान मनलाग्दी मूल्य राखेर बेच्छन् । उद्योग व्यवसायी होस् या व्यापारी दुवैले लुटको धन्दा मच्चाएका छन् । अर्कोतिर, यिनीहरुले राज्यलाई राजस्वसमेत तिरेका छैनन्। ठूल्ठूला उद्योग व्यवसायीले त यहाँ खर्बौं राजस्व छलेका छन्।

सानाले त पसलै दर्ता नगरी व्यापार व्यवसाय सञ्चालन गरेका छन् । रातारात धनी बन्ने सपना देखेका उनीहरुले आम उपभोक्तालाई ठग्नुसम्म ठगिरहेका छन्।

तर, सरकार कहाँ छ ? कँही छैन् । सरकारमा बस्नेदेखि लिएर सरकारी कर्मचारी आफैं भ्रष्टाचारी छन्, अरुलाई के ठग्नबाट रोक्छन् ? निर्माण क्षेत्र पनि भ्रष्टाचारको जालोले जेलिएको छ। निर्माण व्यवसायीहरु धेरै नाफा कमाउन कमशल सामानको प्रयोग गर्छन्।

बजेट थप गर्नका लागि एक वर्षमा हुने काम पाँच वर्ष लगाएर गर्छन्। कमशल सामानको प्रयोग गर्दा निर्माण गरेका संरचना एक वर्ष पनि टिक्दैन्। राज्यको अर्बौं रुपैयाँ ‘वालुवामा पानी मिसाएसरह’ भइरहेको छ । एउटै काम पटकपटक दोहोर्याएर गर्नुपर्ने अवस्था छ। सरकारी होस् या निजी, सबैको उद्देश्य एउटै हो।

भ्रष्टाचार गर्नु र रातारात धनी बन्नु । सबै जना प्रलोभनमा फसेका छन् । अधिकांशको दिमागमा कसरी पैसा कमाउने, घर ठड्याउने भन्ने मात्र चलिरहेको हुन्छ। हुन पनि नानीदेखि लगाएको बानी, कसरी सुधारिन्छ ? सरकारले भ्रष्टाचार नियन्त्रणका निम्ति कडा कानुन नबनाउँदा मुलुकमा भ्रष्टाचारीहरुको संख्या ह्वात्तै बढ्यो ।

जो हेर्यो राजस्व छल्ने, एकाअर्कालाई ठग्ने मात्र भए । अहिले पदको पछाडि सबै दौडिरहेका छन्, किन ? किन कि पद पाएपछि सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्न सकियो । यही सोचले गर्दा आज देश बिग्रियो ।

सरकारले हरेक १० वर्षमा जनगणना गर्छ । जनगणनामार्फत देशको जनसंख्या बढ्यो कि घट्यो, हेरिन्छ । अब सरकारले नेता, सांसद, सरकारी कर्मचारी, निजी संघसंस्थामा बस्ने पदाधिकारी, म्यानपावर व्यवसायी, निर्माण व्यवसायी, उद्योगी, व्यापारीलगायतको सम्पत्ति गणना गर्ने बेला भएको छ।

उनीहरुको हिजोको सम्पत्ति कति थियो, आज कति छ ? यो खोजतलास गर्नुपर्यो। अहिले सदन चलिरहेको छ । सांसद छन् । तर, भ्रष्टाचार रोक्न कसैले पहल नै गर्दैनन् । निजी या सरकारी, हरेक क्षेत्रमा काम गर्ने कर्मचारी, पदाधिकारीको हरेक वर्ष सम्पत्ति छानबिन गर्ने भनेर कानुन बनाउनुपर्यो ।

हरेक वर्ष सम्पत्ति खोताल्यो भने कसले भ्रष्टाचार गर्छ ? उसको शुरुको सम्पत्ति कति थियो, हालको आम्दानी कति छ ? वार्षिक कति खर्च हुन्छ, कति बचत ? राज्यलाई राजस्व तिरेको छ कि छैन् ? छानबिन गर्न एकदमै जरुरी देखिएको छ । त्यस्तै, गलत रुपले कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ।

सरकारले सम्पत्ति राष्ट्रियकरण गर्ने भएपछि यहाँ कसले गलत काम गर्छ ? कसले भ्रष्टाचारको बाटो रोज्छ ? अहिले त कानुन नै भएन् । दुई रुपैयाँमा उत्पादन भएको सामान २० रुपैयाँमा बेच्छन् । अर्कोतिर राज्यलाई राजस्व तिर्दैनन् । यता, छानबिन गर्ने निकायका कर्मचारी पनि उस्तै छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी, कर्मचारी आफैं भ्रष्टाचारी छन्, अरुले गरेको भ्रष्टाचार के खोताल्छन् ? अख्तियारका पूर्व आयुक्त आफैं सरकारी जग्गा हिनामिनाको मुद्दामा मुछिएका छन् । राष्ट्रिय सतर्कता केन्द्र त कामै छैन्।

न कर्मचारीमाथि नजर राख्न सक्छ, न भ्रष्टाचार रोक्न नै। सरकारले सम्पत्ति छानबिन गर्न थाल्ने हो भने कसैले भ्रष्टाचार गर्ने आँट नै गर्दैनन् । राष्ट्रियकरण गर्ने भएपछि कसले भ्रष्टाचार गर्छ ? कसले राजस्व छल्छ ? कर्मचारीले नेतामाथि औंला उठाउँछन्, नेताले कर्मचारीमाथि । अरुमाथि हिलो छ्याप्नुअघि आफूलाई हेरौं।

पहिले आफूबाट सुधार गरौं । मैले पनि भ्रष्टाचार गरेको छु हैं, मैले पनि राज्यलाई लुटेको छु हैं भनेर स्वीकार्न सिकौं । मै मिठो खाऊँ, लाऊँ, घुमौं, रमाऔं भन्ने भावना व्यक्तिमा छ। नेपालीहरु धेरै सोखिन भए । अरुलाई मारेर आफू धनी बन्नुपरेको छ।

धनी बन्ने रेसमा दौडिरहेका उनीहरुले राजस्व छलेका छन्, अरुलाई ठगेका छन् । यहाँ व्यक्तिले करोडौंको घर ठड्याएका छन् । तर, उनीहरुले राजस्व तिरेका छन् त ? छैनन् नि । उनीहरुले त राजस्व छलेका छन् । जनताको अभिभावक भनिएका जनप्रतिनिधिहरुलाई नै हेरौं । ठेक्का मिलाउने अनि कमिशन खाने ।

यस्तो पाराले देश कसरी चल्छ ? यहाँ सरकारभन्दा व्यक्ति धनी छन् । हिजोको नेपाली र आजको नेपाली हेरौं। चप्पल लगाउन नसक्ने जनता आज करोडौंको मालिक छन्। सही बाटो हिँडेर काम गर्नेलाई यहाँ बिहानबेलुका खानलाउनसमेत मुश्किल छ।

रातारात करोडपति बन्नेहरुले कसरी कमाए भन्ने त घामजस्तै छर्लङ्ग छ । जनताले राजस्व छल्दै गए, राज्यले विदेशी ऋण लिँदै गयो । मुलुक सञ्चालन गर्नका निम्ति राजस्व चाहिन्छ भन्ने कसैले बुझेन् । आज नेपाली विदेशी ऋणले थिचिएको छ, यसको दोषी त आम नागरिक पनि हुन् नि।
उनीहरुले राजस्व तिरिदिएको भए राज्य सञ्चालन गर्नका लागि विदेशी ऋण लिनुपर्ने अवस्था नै सिर्जना हुँदैनथ्यो । नेपालको सबैभन्दा ठूलो व्यापारिक संस्था चौधरी ग्रुप हो । चौधरी ग्रुपले नै सबैभन्दा धेरै राजस्व छलेको छ।

चौधरी ग्रुपले नेपाली पैसा सबै बाहिरी मुलुकमा लगानी गरेको छ । साँच्नै नै भन्ने हो भने विद्यालयले पनि विद्यार्थीलाई राम्रो पाठ सिकाउन सकेन् । शिक्षकहरुले किताब घोकाए तर, राष्ट्रियता सिकाउन उनीहरु चुके । स्कुलले विद्यार्थीलाई कर्तब्य र दायित्व सिकाउन सक्नुपथ्र्यो । विडम्बना, शिक्षकहरुले सकेनन् । नेताहरु राष्ट्रियताको भाषण गर्छन्।

राष्ट्रभन्दा ठूलो केही हुँदैन् भनेर संसद्मा चिच्याइरहेका हुन्छन् । करोडौंमा घरमा बस्ने, विदेशबाट आयात गरिएको सामान प्रयोग गर्नेलाई राष्ट्रियताको ठूल्ठूला कुरा गर्न सुहाउँछ ? विदेशी ऋण लिएका छन्, तलबभत्ता खाएका छन्, मोजमस्ती गरेका छन् अनि देश सुधारको बाटोमा कसरी जान्छ ? अब पनि कोही जिम्मेवार नबन्ने हो, भ्रष्टाचार मात्र गर्न खोज्ने हो भने देश जटिल मोडमा जान्छ।

सांसदको काम तलबभत्ता खाने र सरकारी गाडी चढ्ने मात्र होइन्, कानुन बनाउने हो । भ्रष्टाचार रोक्न कडा कानुनको खाँचो परिसकेको छ, सांसदहरुले अब आवाज उठाउनुपर्यो । सम्पत्ति छानबिन गर्न नमान्नेहरुको राज्यबाट पाउने सेवासुविधा बन्द गरिदिनुपर्छ ।
अनुसा थापा-भक्तपुर