नारायणगढ–मुग्लिन सडक दुईतर्फी पुनः अवरुद्ध
काठमाडौं । नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ।सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा शनिबार राती पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो।
सडक दुइतर्फी अवरुद्ध भएपछी सयौं यात्रु बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोसँगै विजुलीको पोल पनि ढलेर तार पहिरोमा परेकाले पहिलो तार हटाएर पहिरो पन्छाइने इलाका प्रहरी जनाएको छ ।
सोही स्थानमा गत बिहीबार दिउँसोदेखि सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारी साधन आउजाउ गर्ने गर्दछन्।
पूर्व र पश्चिमबाट काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ‘लाइफलाइन’ नै मानिन्छ। बर्खालागेसँगै पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।
सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बिच बाटोमा अलपत्र परेका थिए।