आज १० वर्षयताकै सबैभन्दा लामो दिन
काठमाडौं। आज १० वर्षयताकै सबैभन्दा लामो दिन रहेको छ। बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने दिन रहेको बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ।
पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको समितिका निमित्त कार्यकारी निर्देशक डा।सनतकुमार शर्माले बताए । उनका अनुसार पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुन्छ।
पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर रहेको छ। बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ। पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ।
डा.शर्माले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुने बताए। पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुने उनको भनाइ छ।
पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुने गरेको उनले बताए। असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जाने र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुने उनले बताए।
उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन्। यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ।