आजबाट कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै ,यी हुन् एजेन्डा
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। अघिल्लो बैठकको ठिक एक वर्षपछि आज बैठक बस्न लागेको हो।
विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हो। तर, कहिले सत्ता राजनीति मिलाउन त कहिले पार्टी नेता बालकृष्ण खाँण भ्रष्टचार मुद्दामा फसेपछि मिति तोकेर पनि बैठक सर्दै आएको छ।
बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिइनेछ। झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ।
गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ।
यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ।
साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ।
यस्तै बैठकले असार २१ र २२ गते बसेको जिल्ला सभापतिहरूको भेला र सदस्यताको विषय, पटकपटक भएका कार्यसम्पादन समिति बैठकका निर्णयहरूको अनुमोदन गर्नेछ।