काठमाडौं महानगरका नगर प्रहरीहरुको दुस्साहस बढ्दै, सात जना बर्खास्त, पाँच निलम्वनमा

काठमाडौं। नगर प्रहरीको शैलीमाथि आक्रोश र अनगिन्ति प्रश्नहरु उब्जिएपछि काठमाडौं महानगरले केही नगर प्रहरीलाई बर्खास्त तथा केहीलाई निलम्वन गरेको छ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार अभद्र व्यवहार, अमानवीय व्उवहार गर्ने र ड्युटीको समयमा आचरण विपरीत लेनदेनमा संलग्न भएका १२ नगर प्रहरी कारबाहीमा परेका छन्।

जसमध्ये सात जनालाई बर्खास्त नै गरिएको छ। पाँच जनालाई अनुसन्धानका लागि निलम्वन गरिएको छ । कारबाहीमा पर्नेहरुको संख्था थपिन सक्ने नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए।

अहिले कारबाहीमा परेका मध्ये धेरै जसो महानगरले युनिक सेक्युरिटिज मार्फत लिएका नगर प्रहरीहरु छन् । युनिकबाट महानगरले ८१ व्यक्तिलाई नगर प्रहरीमा राखेको छ।

साढे तीन सय नगर प्रहरी मध्ये धेरै जसो करारमा छन् भने केही प्रहरी स्थायी पनि छन् । निलम्वनमा परेका ती पाँच जना महानगरका पुराना तथा स्थायी नगर प्रहरी हुन्।

केही नगर प्रहरीहरु आर्थिक लेनदेनमा मुछिएको, केहीले अमानवीय व्यवहार गरेको पाइएपछि उनीहरुमाथि तत्कालै कारबाही गरिएको नगर प्रहरी प्रमुख पाण्डले जानकारी दिए।

अन्य केहीलार्ई स्पस्टीकरण सोध्ने, सचेत गराउने र यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको छ।