काठमाडौंको फोहोर लिएर जाने गाडीलाई शुल्क लिने ककनी गाउँपालिकाको निर्णय
काठमाडौं। नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने भएको छ।
गाउँपालिकाले आर्थिक विधेयक मार्फत फोहोर बोकेर जाने गाडीहरुलाई प्रति गाडी शुल्क लिने प्रस्ताव पारित गरेको हो।
फोहोरका ठूला गाडीलाई प्रति गाडी एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव पारि गरिएको हो। स्थानीय तहलाई सवारी साधनमा कर उठाउने अधिकार नभए पनि ल्याण्डफिल साइट प्रभावित क्षेत्र भएकाले साउन १ गतेदेखि फोहोरका गाडीलाई प्रवेश शुल्क लिने निर्णय गरेको ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले बताउनुभएको छ।
गाउँपालिकाले फोहोर लिएर जाने गाडीहरुलाई त्यस विषयमा जानकारी समेत गराएको छ। काठमाडौं उपत्यकामा रहेका नगरपालिकाहरु र काभ्रेका केही स्थानीय तहहरुको गरी दैनिक ११ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ।
दैनिक सयौं गाडी फोहोर लिएर जाने गरेका ती प्रत्येक गाडीले पटकैपिच्छे शुल्क तिर्नुपर्ने छ।