आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले बताएको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोपख देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी,लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि सामान्य रहने तथा देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।