खुला सिमानाका कारण राष्ट्रिय सुरक्षामा चुनौती बढ्दै: गृह
काठमाडौं। सरकारले खुला सिमानाका कारण राष्ट्रिय सुरक्षामा चुनौतीको रूपमा रहेको बताएको छ। राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरेबमोजिमको लिखित विवरण पठाउँदै गृह मन्त्रालयले नेपालको छिमेकी दुई देशसँग खुला सिमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएको हो।
सोमवार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाएकी हुन्। विवरणमा खुला सिमानाका कारण मानव बेचबिखन,हातहतियार ओसारपसार,लागुऔषध ओसारपसार र सीमा पारिबाट आपराधिक व्यक्ति,समूह प्रवेश गरी लुटपाट एवम् अन्य आपराधिक घटना घटाउने चुनौती रहेको उल्लेख गरिएको छ।
त्यस्तै सीमापारि अपराध गरेर सीमावारि आई लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका विन्दुहरूबाट चोरी,निकासी,तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ।
खुला सिमानाको फाइदा उठाउँदै अवैधरूपमा शरणार्थीहरूको प्रवेश र तेस्रो देशका नागरिकको अवैध घुसपैठ हुने गरेको पनि जनाइएको छ।