सिनामंगलमा शंकास्पद वस्तु राख्नेको डेरामा प्रहरी छापा, एकजना पक्राउ
काठमाडौं। सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलमा अगाडि बुधबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका व्यक्तिको कोठामा प्रहरीले छापा मारेको छ।
प्रहरी वृत्त,गौशालाले शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका रौतहटका २८ वर्षीय खजयन्ती पासवानको सिनामंगलस्थित डेरामा छापा मारेको हो।
त्यसक्रममा शंकास्पद वस्तु बनाउन प्रयोग भएको तार टेप लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले बताए।
पासवानले घटनामा आफ्नो संलग्नता समेत स्वीकारेका छन्। शंकास्पद वस्तु राखिएको सुनचाँदी पसल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरामा देखिए अनुसार उनले बिहान ७ बजेर ९ मिनेट जाँदा शंकास्पद वस्तु राखेर हिँडेका थिए।
स्रोतका अनुसार, उनी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन्। उनले राखेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, डिस्पोज गरिएको वस्तुमा विष्फोटक पदार्थ थिएन। ‘तर्साउनलाई मात्र राखिएको रहेछ, डिस्पोज गरेर टोली फर्किएको छ,भण्डारी भन्छन्।
प्रहरीका अनुसार, पासवानले पसलका सञ्चालकलाई फोन गरेर ५ लाख रुपैयाँ माग गरेका थिए । नदिए उडाइदिने भन्दै शंकास्पद वस्तु राखेका थिए।
घटनास्थलमा ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाम उल्लेख गरिएको पर्चा समेत बरामद भएको थियो। त्यसरी राखिएको पर्चामा ‘आरडीएकस बारुदको नाम राखिएको भनिएको थियो।
पासवानको बयान उदृत गर्दै एक अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसरी लेख्दा मान्छेले पत्याउँछन् भनेर लेखेको थिएँ, अरु केही होइन।