काठमाडौं र ललितपुरका यी स्थानमा आज बत्ती जाने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली आज शनिबार साउन ६ गते बन्द हुने भएको छ। काठमाडौंको टेकुस्थित विद्युत प्राधिकरणको सबस्टेसनबाट आपूर्ति भइरहेको बिजुली आज ८ घण्टासम्म बन्द हुने बताएको हो।

प्राधिकरणले हिजो शुक्रबार सूचना जारी गरी आज साउन ६ गते बिहान साढे ८ बजेदेखि दिउँसो साढे ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको थियो।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाले आज विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो।

प्राधिकरणद्वारा सार्वजनिक गरिएको सूचनामा भनिएको छ,टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ।

प्राधिकरणले निकालेको सूचनाअनुसार बागमती फिडरअन्तर्गत आज सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

पुल्चोक फिडरअन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास र ठाडोढुंगा क्षेत्र तथा चमती फिडरअन्तर्गत ज्ञान तीर्थमार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारुद खाना क्षेत्रमा विद्युत् बन्द हुनेछ।

कीर्तिपुर फिडरअन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा पनि बिजुली बन्द हुने सूचनामा भनिएको छ।

त्रिपुरेश्वर फिडरअन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती र वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङअन्तर्गत त्रिपुरेश्वर चोक,आशा अस्पताल,रंगशाला, नर्भिक अस्पताल,प्रसूति गृह हुँदै बबरमहलसम्म,सानेपा,कुपण्डोल हिमालय होटल,स्थानीय विकास मन्त्रालय र पुल्चोकसम्म विद्युत् सेवा बन्द हुने छ।

यस्तै भैँसीपाटी फिडरअन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडरअन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुनेछ।

नेपाल विद्युत प्राधिकणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने जनाएको छ।

यस्तो छ हेर्नुहोस् नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना