राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३४ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं। राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालको ३४ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबिच शनिबार सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बिच ३४ औँ वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गरे ।
सो अवसरमा महासचिव पोखरेलले उत्कृष्ट कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानहरू का कर्मचारीको सेवा सुविधा बृद्धिमा सरकारले सहयोगपूर्ण रूपमा हेर्ने नीति लिनुपर्ने बताए ।
राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरूको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरू व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए।
सो कार्यक्रममा पेशागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरू एक हुनुपर्ने बताए।
उक्त कार्यक्रममा बैङ्क, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी सङ्घ नेपालका पूर्व अध्यक्ष शिवकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ रावा बैङ्कका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रावा बैङ्कका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रूपमा विषयहरू उठान गरिएको थियो।
कर्मचारी सङ्घ नेपालका महासचिव रबिन्द्रप्रसाद चौलागाईंले सञ्चालन गरेको सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तब्य व्यक्त गरेका थिए।
कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैङ्क सञ्चालक समितिका अध्यक्ष डा। बलराम पाठक, सङ्घका पूर्व अध्यक्षहरू, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका अध्यक्षहरू, बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरू, सङ्घका पदाधिकारीहरू लगायत कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा रा।वा। बैङ्कको केन्द्रीय कार्यालय परिसरमा लक्ष्मीप्रसाद पाण्डेयले सङ्घको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए।
सङ्घका विभिन्न प्रदेश समितिहरूमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ। साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७१ जना बैङ्क कर्मचारीहरूले रक्तदान गरेका थिए। कार्यक्रममा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्याङ्कनमा उष्कृष्ट भएपावत रनिङ्ग शिल्ड प्रदान गरिएको थियो। साथै, सो अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो।
सो खेलमा प्रथम बसन्ता पन्थी, द्धितीय भावना शर्मा र तृतीय गंगा भुर्तेल भएका थिए। विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। वार्षिकोत्सवको अवसरमा राविया नेपाल रिलिफ फण्डको सहयोगार्थ शनिवार काठमाडौँमा राविया सांस्कृतिक साँझ–२०८० समेत आयोजना गरिएको छ।