वरिष्ठ सई पौडेलको होटल संचालकबाटै हत्या
काठमाडौं। वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेललाई होटल संचालकले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
बडिगाड गाउँपालिका–६ को आसा खाजा घर तथा रेस्टुरेन्टमा पौडेल सोमबार राति साढे १२ बजे मृत भेटिएका थिए । पौडेल खाजा खाना उक्त होटल गएका थिए।
होटल संचालक आसा कुँवरसँग भनाभन भएपछि आसा र उनका छोरा विनोदले पौडेलको टाउकोमा मुक्का हानेर बेहोस बनाएका थिए।
त्यसपछि पर्दाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पौडेलको सोमबार राति साढे ११ बजेतिर हत्या देखिएको छ।
मंगलबार दिउँसो जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्कासहितको टोलीले घटनास्थल मुचुल्का गरी शव ल्याएको थियो । प्रहरीले धौलागिरि अस्पतालमा शवको पोस्टमार्टम नगरी कास्की पोखरा लगेको थियो।
पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए।
बुधबारै प्रहरीले होटल संचालक कुँवरका आमाछोरालाई जिल्ला अदालतमा पेस गरेको थियो। अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको काम थालिएको हो।
मृतक पौडेल केही समयअघि भीआईपी पिएसओमा काठमाडौंमा कार्यरत थिए। एक वर्षअघि भिमगिठे गएका पौडेल सोमबार डिउटीबाट फर्केपछि रेस्टुरेन्टमा खाजा खान गएको खुलेको छ।