असारदेखि साउन १० गतेसम्म बाढीपहिरोबाट ३१ जनाको मृत्यु, २४ जना बेपत्ता

फाइल तस्वीर

काठमाडौं । यस वर्षको १ असारदेखि मनसुनजन्य प्राकृतिक विपदबाट ३१ जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबारसम्म यस वर्षको मनसुन सुरु भएयता बाढीपहिरोबाट ३१ जनाको मृत्यु भएको हो । त्यस्तै २४ जना बेपत्ता भएका छन् भने ३४ घाइते भएका छन्।

बाढीपहिरोबाट ९५ घर पूर्णरूपमा क्षतिग्रस्त बनेको छ भने १८४ घरमा आंशिक क्षति पुगेको शाखाले बताएको छ। बाढीपहिरोबाट सबैभन्दा बढी संखुवासभामा क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट संखुवासभामा ४ जनाको मृत्यु भएको थियो भने १८ अझै बेपत्ता छन्।

यस्तै, ताप्लेजुङमा पहिरोमा परेर ३ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता छन्। महाशाखाका अनुसार पाँचथरको बाढीमा परेर ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्।

यस वर्ष बाढीपहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले गरेको थियो।