काठमाडौंका सडकमा मापदण्ड पालना नगर्दा सर्वसाधारणलाई सास्ती

काठमाडौं। नेपालको राजधानी काठमाडौंका सडकमा यात्रा गर्दा सूदुरको कुनै गाउँमा गरेको यात्राको सम्झना आउँछ। ठूलो धनराशी खर्च गरेर बनाइएका सडकको पिच १ बर्षपनि टिक्दैनन्।

सडक बनाउँदा निर्माण मापदण्डको खिल्ली त उडाइएकै छ,चिल्ला बनेका सडकमा पनि कहिले खानेपानी,कहिले विद्युत त कहिले ढलको नाममा पटक पटक खनेर बिगारिन्छ।

महिना महिनामा पर्ने सडकका खाल्डाखुल्डीले सडक संरचना निर्माण र मर्मत गर्ने तालुकदार निकायहरुलाई गिज्याइरहँदा उनीहरु भने एकअर्कामा आरोप प्रत्यारोपमै व्यस्त छन्।

सडक विभागले सडकमा नयाँ पिच गर्न तथा मर्मत गर्न निश्चित मापदण्ड नै तय गरेको हुन्छ। सडक बनाउँदा अस्पाल्ट, बिटमिनको गुणस्तर, त्यसलाई उमाल्ने तापक्रम र मिलावटको अन्तर्राष्ट्रिय मापदण्ड छ। तर, नेपालमा हिलो धुलो, बर्षात केहि नभनी धामधम अलकत्रा खन्याउने, पिच गर्ने प्रचलन छ, जसले गर्दा लाखौँ–करोडौँ खर्च गरेर बनेका सडकहरु एक वर्षपनि टिक्दैनन्।

सडक निर्माणको गुणस्तरमात्र होइन, एक पटक बनेको सडकमा खानेपानी, विजुली, ढल निकास आदिको नाममा पटक पटक भत्काउने र टालटुल पारेर छाड्ने प्रचलनले गर्दा समस्या देखिने गरेको छ।

जथाभावी सडक भत्काउने र खाल्डाखुल्डी नपुर्ने प्रचलनले सवारी चालक, सडकयात्री, सर्वसाधारण र व्यवसायीले सास्ती बेहोरीरहेका छन्।

उपत्यकाका सडक मर्मतका लागि तालुकदार निकायहरु मौनप्रायः देखिन्छन्। सम्बन्धित पालीका, सडक डिभिजन कार्यालय, सडक विभागको आ–आफ्नै जिम्मेवारी छन्, तर मर्मतको प्रक्रिया भने कामचलाउ ढंगमै छ।

जिम्मेवारी लिनुपर्ने सडक डिभिजन काठमाडौँलाई आफ्नो निर्माणमा कुनै शंका छैन, बरु खानेपानी, ढल निकाश लगाएतका निकायतर्फ समस्या डाइभर्ट गर्नमा उसको चासो छ।