अबदेखि मदिरा पिउन अनिवार्य लाइसेन्स चाहिने

सांकेतिक तस्वीर

काठमाडौं। तपाई मदिरा पिउनु हुन्छ ?मदिरा पिउनु हुन्छ र जुम्लाको गुठीचौर गाउँपालिकामा हुनुहुन्छ भने अब चाहँदैमा मदिरा पिउन नपाइने भएको छ।

उक्त गाउँपालिकाले भदौ १ बाट लागू हुने गरी ल्याउन लागेको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिले मद्यपानका लागि ‘लाइसेन्स’ लिनुपर्ने व्यवस्था गरेको छ।

कार्यविधि लागू भएपछि पालिकावासीले ५ सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति नै रकम बुझाएर बर्सेनि नवीकरण पनि गर्नुपर्नेछ।

तर पालिका बाहिरका मान्छेले मदिरा सेवनकर्ताका लागि भने एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

कार्यविधिले एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल र हार्डड्रिंक्स १ सय ८० मिलिलिटर मात्र पिउन पाउने गरी हदबन्दी लगाएको छ।