माओवादी पार्टी पार्टीजस्तो हुन सकेनः अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी जस्तो नभएको बताउनुभएको छ।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले आफू नेतृत्वको अहिलेको सरकारका गतिविधिले जनतामा नयाँ आशा पलाएको बताउनुभयो। ‘हाम्रो पार्टी, पार्टीजस्तो भइरहेको छैन।
पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पार्टीका सन्दर्भमा बेलामौकामा भन्ने गरेको छु। हामीसँग नेता कार्यकर्ताको विशाल पङ्ति त छ। तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन।’
प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको दावी गर्नुभयो।
पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै उहाँले यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास लिनुभयो।
उहाँले भन्नुभयो, ‘सरकारका कारण जनतामा आशा पलाएको छ। भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ।