बाजुरामा यो वर्षको धान रोपाइँ सकियो

फाइल तस्वीर

काठमाडौं। बाजुरामा यो वर्षको धान रोपाइँ सकिएको छ। जिल्लाका ९ वटै स्थानीय तहमा जेठको पहिलो सातादेखि शुरु भएको धान रोपाइँ श्रावणको दोस्रो सातासम्म सकिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बाजुराको धेरैजसो स्थानमा सिँचाइको सुविधा नभएका कारण आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ।

जिल्लाका बडिमालिका,बूढीनन्दा,त्रिवेणी,खप्तड छेडेदह, बूढीगङ्गा, गौमुल, स्वामिकार्तिक, जगन्नाथ, हिमाली लगायतका केही ठाउँमा जेठको दोस्रो साताबाट सुरु भएको रोपाइँ श्रावणको दोस्रो सातासम्ममा सम्पन्न भएको हो।

बाजुरामा १३ हजार १ सय ४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने पाँच हजार २ सय ३५ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा छ।