मन्त्रीकै आडमा गुन्डागर्दी मौलाउँदै

काठमाडौं। उपत्यकामा राजनीतिक आडमा गुन्डागर्दी फेरि मौलाउन थालेको छ। पछिल्लो केही वर्ष प्रहरीले नरम रणनीति लिएको फाइदा उठाउँदै गुन्डाहरू सक्रिय हुन थालेका छन्।

काठमाडौंका पछिल्ला दुई घटनाले पनि यसको संकेत गरेको छ। गत महिना ठमेलमा एक समूहले क्लब सञ्चालकमाथि कुटपिट ग¥यो भने, गत साता बौद्ध एरियामा हप्ता असुल्ने समूह समातियो।

प्रहरी इन्काउन्टरमा मारिएका गुन्डानाइके कुमार घैंटे समूहका युवराज गुरुङ लगायतले गत महिना ठमेलको ओम्निमिया क्लबका सञ्चालक राजेन्द्र गुरुङ लगायतमाथि कुटपिट गरेको थियो। सानुभाई उपनामले चिनिने गुरुङ घटनापछि पोखरा भागेका थिए।

प्रहरीले इन्काउन्टर गर्ने तयारी गरेको सूचना पाएपछि काठमाडौं फर्कदै गर्दा नागढुंगामा समातिएका थिए। सो मुद्दामा जिल्ला प्रशासनले १० हजार धरौटी माग गरेकोमा नतिरी जेल गएका छन्। आफुमाथि प्रहरीले गोली हान्ने सक्ने डरले नै उनी भागेको बताइन्छ।

घैंटे इन्काउन्टरमा मारिएपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिड्ने गर्दथे। त्यसपछि केही समय निष्क्रिय भएका उनी पछिल्लो समय कांग्रेस नेताहरूकै संरक्षणमा गुन्डागर्दीमा लागेका छन्। अर्थमन्त्री रहेका डा।प्रकाशशरण महत लगायतसँग उनको निकटस्थ सम्बन्ध छ।

नुवाकोटका धेरै ठेकदारहरु पनि उनको समूहबाट आजित हुँदै आएका थिए। ठमेलका क्लबहरुमा समूह लिएर जाने र पैसा नतिरी धम्काउने गरेका थिए। उनी पक्राउ परेपछि धेरैले प्रहरीमा उनले दिएको धम्की सुनाएका छन्। यसले गुन्डागर्दी भित्रभित्रै मौलाउँदै गएको प्रष्ट हुन्छ।

त्यस्तै, गत १६ साउनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बौद्ध क्षेत्रमा गुन्डागर्दी गर्ने पाँच जनालाई पक्राउ गरेको थियो। सिन्धुपाल्चोकका श्याम लामा, विक्की लामा, भिमबहादुर बस्नेत, गोविन्द गजमेर र प्रविण तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

सुरुमा स्थानीयले बौद्ध वृत्तमा उजुरी गरेका थिए। तर, बौद्ध वृत्तका डिएसपी हरि बस्नेत र गुन्डागर्दीमा संलग्नहरू सिन्धुपाल्चोककै स्थानीय भएकाले कारबाही भएन। त्यसपछि अपराध अनुसन्धान कार्यालयले एक्सन लिएको हो।

पक्राउ परेकाहरुको स्वास्थ्यमन्त्री मोहन बस्नेतसँग निकटता देखिएको छ। नेता र केही प्रहरीकै आडमा उनीहरुले हप्ता असुली गर्दै आएका थिए।

बौद्ध वृत्तका डिएसपी बस्नेत स्वास्थ्यमन्त्रीकै आफन्त हुन्। नेता बस्नेतले नै उनलाई बौद्धमा सरुवा गरिदिएका हुन्। त्यसकारण बौद्ध क्षेत्रमा कांग्रेस निकट टोले गुन्डाहरुको आतंकबाट स्थानीयहरु हैरान भएका थिए।

विगतमा यस्तै आतंक मच्चाएपछि प्रहरीले केही डनलाई इन्काउन्टर गरेको थियो। २०७१ सालमा डन दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा परे। त्यतिबेला अपराध महाशाखाको प्रमुख पुष्कर कार्की थिए।

त्यसको एक वर्षपछि कुमार घैंटे मारिए। सर्वेन्द्र खनालको नेतृत्वमा त्यो अप्रेसन भएको थियो। पछि रुपन्देहीमा मनोज पुनको समूह मारियो।

त्यस्तै, २०७५ सालमा बालक अपकरण गर्ने दुई व्यक्ति भक्तपुरमा मारिएका थिए। यी इन्काउन्टरपछि पेशेवर अपराधीहरू डराएका थिए। पुराना डनहरू समेत सुध्रिए। तर, अहिले प्रहरी नरम भएपछि उनीहरु सक्रिय भएका छन्।

जसकारण फेरि इन्काउन्टरबारे प्रहरीले छलफल थालेको छ। त्यसैका लागि पनि एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको चर्चा प्रहरीमा छ। उनी विगतमा चरी र मनोज पुन इन्काउन्टरमा संलग्न थिए।