राजस्व चुहावटको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावटको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। मालपोत कार्यालय वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्रसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

यस कार्यमा मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनद कुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, ना.सु. रामेश्वर प्रसाद साह र ना.सु.लेखनाथ भट्टराई संलग्न रहेका छन्।

उनीहरुले मालपोत कार्यालयको वीरगंजको रजिष्ट्रेशन फाँट क० र ग० बाट २०७३ साल साउन २ गतेका दिन रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना गरेको पाइएको छ।

लिखतहरु पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट चार लाख २५ हजार ५३१ रुपैयाँ राजस्व चुहावट भएको छ। ओरोपी रामेश्वर प्रसाद साहलाई बिगो ७ लाख ५१ हजार ८०९ रुपैयाँ र कमोद तिवारीलाई २३ हजार ४९५ रुपैयाँ पबगो माग गरिएको छ।

त्यस्तै, चन्द्र बहादुर भण्डारीलाई चार लाख ७८ हजार ८०८ रुपैयाँ, लेखनाथ भट्टराईलाई ३९ हजार, हरिनारायण मिश्रलाई ६१ हजार २४३ रुपैयाँ, सनद कुमार द्वीवेदी ब्रह्मणलाई २ लाख २७ हजार ५५६ रुपैयाँ बिगोसहित जरिवाना माग गरिएको छ। उनीहरुविरुछ आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ।