प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक मात्र नभएर खेदजनक छ: नेता कोइराला

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डले आपत्तिजनक र बोल्नै नमिल्ने अभिव्यक्ति दिन थालेको भन्दै यसबारे प्रश्न गरेका छन्।

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति कोइरालाले आपत्ति जनाउँदै कांग्रेस नेतृत्वको धारणा को हो भनेर पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन्।

आइतबार संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन्। आदिवासी दिवसका दिन प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक मात्र नभएर खेदजनक समेत रहेकाले कांग्रेसले संस्थागतरूपमै खेद व्यक्त गर्नुपर्ने उनको भनाई छ।

माओवादीलाई भोट दिनुस्, जिताउनुस्, जातीय राज्य हामी दिन्छौं भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिनु आपत्तिजनक भएको उनले बताए।

जातीय राज्यको अवधारणा प्रचण्डको पार्टीको कुरा हुन सक्ला, तर उनले अहिले आफू गठबन्धन सरकारको प्रधानमन्त्री भएको कुरा पनि भुल्नुहुँदैन भन्दै कोइरालाले सचेत समेत गराए।