बलात्कारको झुटो उजुरी दिनेलाई सजाय बढाऊ

काठमाडौं। नेपाल कानून आयोगले बलात्कार तथा यौनजन्य विषयमा झुटा उजुरी दिएर दुःख दिने मनसाय राख्नेलाई बढी सजाय दिन र त्यस्तो उजुरी दिनेसँग क्षतिपूर्ति दिलाउने गरी कानून संसोधन गर्न सुझाव दिएको छ।

आयोगले जबर्जस्ती करणीलगायत यौनजन्य हिंसाविरुद्धको कानूनमा रहेको हदम्यादसम्बन्धी सो अध्ययन प्रतिवेदनमा झुटा उजुरीलाई निरुत्साहित गर्न सुझाव दिइएको छ।

नेपाल कानून आयोगले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिएको सुझावसहितको प्रतिवेदनमा भनिएको छ ‘झुटा उजुरी दिएको प्रमाणित भएमा त्यस्तो उजुरीका कारण अनावश्यक थुनामा परेका निर्दोष व्यक्तिलाई त्यस्तो झुटा उजुरी दिने व्यक्तिबाट आवश्यक क्षतिपूर्ति भराइदिने व्यवस्था गर्ने।

त्यसरी झुटा उजुरी दिने व्यक्तिको आर्थिक अवस्था ज्यादै कमजोर रहेछ र निजले आवश्यक क्षतिपूर्ति दिलाउन नसक्ने अवस्थामा त्यस्तो पीडितलाई क्षतिपूर्ति दिलाउन स्थापना गरिएको पीडित राहत कोषबाट क्षतिपूर्ति दिलाउने उल्लेख छ।

सहमतिले भएको करणी दुवै पक्षबीच सम्बन्धमा दरार नआउँदासम्म बाहिर नआउने र सम्बन्धमा फाटो आएपछि जबर्जस्ती करणीमा जाहेर पर्ने गरेको र जबर्जस्ती करणीजस्तो गम्भीर कसुरमा समेत झुटा आरोप लगाउने प्रवृत्तिसमेत बढ्दै गएको तथ्यमाथिका दृष्टान्तले पुष्टि गरेको छ, अध्ययन प्रतिवेदनमा भनिएको छ।

हाल रहेको कानूनी व्यवस्थाले प्रतिकूल बकपत्र गर्नेलाई तीन महिनासम्म सजाय हुन सक्छ। मुलुकी अपराध कार्यविधि संहिताको दफा ४४ (२) (क) मा ‘झुटा कुरा लेखिदिने वा बनावटी बेहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्ने’ उल्लेख छ। यो सामाचार आजको रजधानी दैनिकमा छ।